मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बागलुङ : तोडियो कांग्रेस, एमाले र जनमोर्चाको किल्ला – Pradesh Dristhi
देश

बागलुङ : तोडियो कांग्रेस, एमाले र जनमोर्चाको किल्ला

बागलुङ । यसपालिको निर्वाचनमा बागलुङका दुवै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भए । जबकि मतदान अगाडिसम्म यहाँ नयाँ दल विजयी हुन्छ भन्ने आकलन धेरैले गर्न सकेका थिएनन् । जब मत परिणाम आयो, तब धेरैलाई आश्चर्य लाग्यो

न मजबुत संगठन थियो, न त चर्चित अनुहारका उम्मेदवार नै थिए, तै पनि जनताले रास्वपाकै पक्षमा फैसला गरिदिए ।

२०४८ सालपछि पालैपालो नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले कब्जा जमाएको बागलुङमा वर्षौंपछि नयाँ दल रास्वपाले पुराना दलको किल्लो तोडेको हो । बागलुङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुशील खड्का भारी मतान्तरका साथ निर्वाचित हुँदा कांग्रेस दोस्रो, एमाले तेस्रो स्थानमा पुग्यो । नेकपा–जनमोर्चा गठबन्धनको त जमानत नै जफत भयो ।

खड्का २० हजार ९२७ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम श्रीसले ११ हजार ९४४ मत पाए । एमालेका हिरा केसीले ८ हजार ६४० र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारीले ४ हजार ५२१ मत पाए । कुल ९८ हजार ४६ जना मतदाता रहेको यस क्षेत्रमा ४९ हजार २४२ मत खसेको थियो ।

क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा १२ हजार ६४७ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत पाए । एमालेकी मञ्जु चालिसेले ७ हजार ८६४ र जनमोर्चा–नेकपाका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत पाए । कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो ।

  • एक दशकदेखिको आलोपालो तोडियो

पहिलो संविधान सभादेखि अहिलेसम्म बागलुङ क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र जनमोर्चाले जित्दै आएका थिए । २०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका हरि खड्का १३ हजार ५०० मतसहित निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हिराबहादुर केसीले ११ हजार ९६३ मत प्राप्त गरेका थिए ।

त्यस बेला हालको क्षेत्र नम्बर २ को गलकोट र ताराखोलासहितका केही स्थान क्षेत्र नम्बर १ मा थिए ।  संविधान सभामा विजयी भएका हरिबहादुरको दुर्घटनामा मृत्यु भएपछि २०७१ चैतमा संविधान सभा सदस्य उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनमा नेपाली कांग्रेसकी चम्पादेवी खड्का निर्वाचित भइन् । उनी स्वर्गीय हरि खड्काकी धर्मपत्नी हुन् । उनले १७ हजार १५४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी मना केसीले १५ हजार ६८ मत ल्याएकी थिइन् ।

०७१ को उपनिर्वाचनमा विजय प्राप्त गरेको नेपाली कांग्रेसले संघीयता लागु भएपछिको दुई वटै प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि पाएन । २०७४ मा वाम गठबन्धन हुँदा हार व्यहोरेको कांग्रेसले २०७९ मा जनमोर्चासँग तालमेल गर्दा उम्मेदवार नै बनाउन पाएन ।

०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका सूर्य पाठकले नेपाली कांग्रेसकी चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पराजित गरेका थिए । पाठकले ३३ हजार ६५७ मत पाएर विजयी हुँदा खड्काले २० हजार ६१६ मत प्राप्त गरेकी थिइन् ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका थिए । चित्रबहादुरले २१ हजार ४६४ मत पाएर विजयी हुँदा एमालेका सूर्य पाठकले १८ हजार ८४५ मत पाएका थिए । त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खीमानन्त कँडेलले ९ हजार १९१ मत पाएका थिए । रास्वपाले कुनै संगठन विनै उल्लेख्य मत पाएको थियो ।

बागलुङ क्षेत्र नम्बर २ मा एक दशकको अवधिमा नेपाली कांग्रेस र तत्कालीन माओवादीले गठबन्धन गरेरै भए पनि कब्जा नै जमाएका थिए । खासगरी यो क्षेत्रलाई कांग्रेसको राम्रो जनमत भएको क्षेत्रका रूपमा लिन्थ्यो । २०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा कांग्रेसका तर्फबाट ज्ञानकुमारी छन्त्याल विजयी भएकी थिइन् ।

उनले तत्कालीन एकीकृत नेकपा (माओवादी) का तुल्सीराम अर्याललाई एक हजार ८७७ मतान्तरले पराजित गरेकी थिइन् । छन्त्यालले १० हजार ८९ मत प्राप्त गर्दा अर्यालले आठ हजार २१२ मत पाएका थिए ।

०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धन एकातिर र अर्कोतिर नेपाली कांग्रेस ‘सिङ्गल’ चुनावी प्रतिस्पर्धामा थियो । त्यस बेला तत्काली नेकपा माओवादी (केन्द्र)का देवेन्द्र पौडेल राष्ट्रिय जनमोर्चा, नेकपा एमालेसहितका पार्टीको सहयोगमा विजयी भएका थिए ।

उनले नेपाली कांग्रेसका नरबहादुर पुन (निरज)लाई आठ हजार ९२२ मतान्तरले पराजित गरेका थिए । पौडेलले २८ हजार ८२७ मत प्राप्त गर्दा पुनले १९ हजार ९०५ मत पाएका थिए । त्यस बेला विजयी भएका पौडेल शिक्षामन्त्रीसमेत भएका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धन टुटेर नेपाली कांग्रेससहित माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको तालमेल भएको थियो । उक्त चुनावमा पनि यस क्षेत्रबाट नेपाली कांग्रेसले आफ्नो उम्मेदवार पाएन । त्यस बेला पनि माओवादी केन्द्रबाटै देवेन्द्र उम्मेदवार बने ।

देवेन्द्रले नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई चार हजार ६०१ मतान्तरले पराजित गरेका थिए । पौडेलले २४ हजार ७९४ मत प्राप्त गर्दा चालिसेले २० हजार १९३ मत प्राप्त गरेकी थिइन् । उनै चालिसे यस पटक पनि एमालेबाट उम्मेदवार बनेकी थिइन् । तर विजय प्राप्त गर्न सकिनन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker