सर्लाहीको चारै क्षेत्रमा रास्वपा अघि, गगन र अमरेशको कति मत ?

सर्लाही । प्रतिनिधि सभा निर्वाचनको मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको अग्रता छ ।
क्षेत्र नम्बर–१, २ र ३ मा रास्वपाका उम्मेदवारले निकटतम प्रतिस्पर्धीलाई धेरै मतान्तरले पछि पार्दै बलियो अग्रता बनाएका छन् भने क्षेत्र नम्बर–४ मा पनि रास्वपा अघि छ । यद्यपि त्यहाँ प्रतिस्पर्धा तुलनात्मक रूपमा केही कडा देखिएको छ।
पछिल्लो विवरणअनुसार सर्लाही क्षेत्र नम्बर–१ मा रास्वपाकी उम्मेदवार नितिमा भण्डारी कार्की १४ हजार ६१६ मतसहित अग्र स्थानमा छिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मनोज कुमार देवकोटा ले २ हजार ५८४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ २ हजार २४५ मतसहित तेस्रो स्थानमा छन्।
क्षेत्र नम्बर–२ मा रास्वपाका रबिन महतो १२ हजार ५८३ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका महिन्द्र राय यादव ३ हजार १५८ मतसहित दोस्रो स्थानमा छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो १ हजार ४०८ मतसहित तेस्रो स्थानमा छन्।
त्यस्तै क्षेत्र नम्बर–३ मा रास्वपाका नरेन्द्र साह कलवार ११ हजार ७५ मतसहित स्पष्ट अग्रता बनाइरहेका छन्। नेपाली कांग्रेसका विनोद कुमार खनाल १ हजार ९२१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ १ हजार ६५८ मतसहित तेस्रो स्थानमा छन्।
क्षेत्र नम्बर–४ मा पनि रास्वपाले अग्रता कायम राखेको छ। यहाँ रास्वपाका अमरेश कुमार सिंह ६ हजार २६४ मतसहित पहिलो स्थानमा छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ३ हजार ६७१ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेकपा (एमाले) का अमनिश कुमार यादव ८९४ मतसहित तेस्रो स्थानमा छन्।



