मिथिलाको होली अर्थात् वसन्तोत्सव, मदनोत्सव, रङ्गोत्सव

त्रेता युगमा एक समृद्ध राज्यका रूपमा रहेको मिथिला (तिरहुत) को ऐतिहासिक सीमा उत्तरमा हिमालय, दक्षिणमा गङ्गा नदी, पूर्वमा महानन्दा (दार्जिलिङ) नदी र पश्चिममा सदानीरा (गण्डकी) नदी रहेको पाइन्छ।
मिथिला संस्कृति प्राचीन, मौलिक र समृद्ध सांस्कृतिक परम्परा हो। मैथिली, अरिपन, गीत र ऋतुअनुसारका चाडपर्वहरू मिथिलाका पर्याय हुन्। मिथिलामा छठ, सामा–चकेवा, नवरात्र, जुडशीतल, फगुवा (होली) जस्ता पर्व हर्षोल्लासका साथ मनाइन्छन्। मिथिलामा प्रचलित चाडपर्वहरू भक्ति र सामूहिक उत्सवसँग जोडिएका छन्।
भगवान्को नरसिंह अवतारको आख्यानानुसार नजल्ने शक्तिले सम्पन्न होलिका प्रह्लादलाई काखमा लिएर बलिरहेको आगोमा बसिन्। तर, होलिका आफैँ आगोले भष्म भइन्, जब कि प्रह्लाद आगोबाट सकुशल निस्किए। उनै होलिका दहनको घटनालाई प्रेरक बनाउन भगवान्ले नरसिंह अवतार लिए।
चामलको पिठो, चिनी, केरा र दूधको मिश्रण गरी घिउमा तारेर मालपुवा पकाइन्छ। होलीको दिन भाङलाई दूध, खुवा, लस्सी, पेडा, जिलेबी आदि मिष्ठान्नमा मिसाएर सेवन गरिन्छ, जसले उत्सवको रमाइलोलाई थप उचाइमा पुर्याउँछ। यी कुराहरूले होलीको रङसँगै स्वादको उत्सवलाई पनि पूर्ण बनाउँछन्। होलीले मित्रता, प्रेम र भाइचारालाई बढावा दिन्छ। मानिसहरू ‘बुरा नमानो होली है’ भन्दै अरूलाई जिस्क्याउने गरेर आनन्द लिन्छन्।
फागु पर्वको इतिहास वसन्त र वसन्तको मदन अर्थात् कामदेवको पूजाबाट सुरु हुन्छ। त्यसैले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा मनाइन्छ। मदनोत्सव शिव–पार्वतीको कामदेव चरित्रलाई प्रकाश पार्ने पर्व हो। वात्स्यायनले रङ र पानीझैँ रति र काममा ऐक्यता देखे। कालान्तरमा त्यसै भक्ति भावको प्रतीक पर्वका रूपमा मदनोत्सव मनाइन थालियो। वसन्तोत्सवले हाम्रो जीवनमा यौवनभरि प्रकृतिको सौन्दर्यबाट हामीलाई प्रसन्न तुल्याउँछ।
प्रकृतिको सुन्दरतामा मनुष्यलाई प्रसन्न गरी उसका सबै घाउ पुर्न सक्ने क्षमता छ। मानिसको स्वभाव नै प्राकृतिक सौन्दर्यबाट प्रभावित हुने हुँदा प्रकृतिको पर्व मनाउने परम्परा प्राचीन समयमा सुरु भई मदनोत्सव वा वसन्तोत्सवका रूपमा निरन्तरता पाएको हो।
यसमा राक्षसी होलिकालाई शान्त पार्ने अनुष्ठान पनि समावेश छ। वसन्त पञ्चमीदेखि काठको थुप्रो खेतमा जम्मा गरिन्छ र वर्षको अन्तिम दिन फाल्गुन पूर्णिमाका दिनमा जलाइन्छ। यसलाई होलिका जलाउनु वा संवत् जलाउनु भनिन्छ। गत वर्षको अन्तिम दिन र आउँदो वर्षको पहिलो दिन दुवै यस पर्वमा समावेश छन्। प्राचीन कालमा वसन्तोत्सवका रूपमा मनाइने यो चाड कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्डा आदिका कथाका माध्यमले फागु, फगुवा, होली, होरी नामबाट पुकार्न थालेको पाइन्छ। फागुन पूर्णिमामा होलिका दहन गरी भोलिपल्ट होलिकात्सव मनाइन्छ। होली वसन्त ऋतुको लोकप्रिय पर्व हो।
फाल्गुने पूर्णिमायां तु दग्धा भवति होलिका ।
पश्चात् प्रातः समुत्थाय होलिकात्सवः ।।
होली प्राचीन कालमा वसन्तोत्सव र मदन महोत्सवका नामले मनाइन्थ्यो। मदन महोत्सव नै मदनोत्सव हो। प्राचीन कालको यो उत्सव चैत्र शुक्ल द्वादशीदेखि चतुर्दशीसम्म मनाइन्थ्यो। यस उत्सवमा व्रत, कामदेवको पूजा, गीत, वाद्य, नृत्य र रात्रिजागरण आदि हुन्थ्यो। यस उत्सवमा स्त्री–पुरुष दुवै सम्मिलित हुन्थे र उद्यान आदिमा आमोद–प्रमोद गर्थे। होली वसन्तोत्सव, मदनोत्सव, रङ्गोत्सव र फगुवा नामले पनि जानिन्छ।
प्राकृतिक सौन्दर्य र रस–रङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी रङ्गोत्सव चाड हो। सद्भाव, सौन्दर्य र रस–रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानो, ठूलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो।
मिथिलामा होलीका लागि उखान पनि प्रचलित छ– ‘जे जीवे से खेले फाग’। होलीको अवसरमा जनकपुरधामलगायत कतै–कतै मूर्ख सम्मेलन गरी सामूहिक हास–परिहास आयोजना गरिन्छ। मिथिलाका लोकगीत मधुश्रावणी, सामा–चकेवा, होली, फागु आदि चाडपर्वहरूको लागि पनि रचिएको पाइन्छ।
मिथिलाको होलीमा गाइने लोकगीतहरू अत्यन्तै भक्तिपूर्ण, मनोरञ्जक, सांस्कृतिक र प्राकृतिक मानिएका छन्। मिथिलामा होली पर्वले छुट्टै मौलिकता पाएको छ। खेतीपातीको काम सकिएर फुर्सदको यो बेलामा होली एक मनोरञ्जनको माध्यम बन्ने गर्छ। माघ शुक्ल पञ्चमी (श्रीपञ्चमी) देखि नै मिथिलामा होलीको सुरुआत भएको मानिन्छ। जाडो सकिएर वसन्त ऋतुको आगमन हुँदा मानिसहरूमा आउने उत्साहलाई व्यक्त गर्न समूहमा भेला भई डम्फू र झ्यालीको तालमा फाल्गुनी, जोगीरा आदि गाउन थालिन्छ। होलीमा जतिसुकै रङ र गुलाल लगाइए पनि, एउटा कुरा छ जुनविना यो पर्व अधुरो मानिन्छ र त्यो हो— होलीका गीतहरू।
होलीका भक्तिगीतहरू विशेष गरी भगवान् गौरीशङ्कर, सीताराम र राधाकृष्णको फागु खेलको प्रसङ्गमा रचिएका छन्। ती भक्तिगीतका बोलहरूमा ‘शिव मठ पर…’, ‘मिथिला मे राम खेलथि होरी…’ जस्ता छन्। होलीका सामाजिक सद्भावका गीतहरू पनि छन्, जसले आपसी पुराना रिसराग बिर्सेर भाइचारा पुनः कायम गर्न मद्दत पुर्याउँछन्। फागुमा ‘होरैया’ गाउने परम्परा छ। होरैया गाउँका मठ, मन्दिर, चौपाल, दलान, सार्वजनिक ठाउँहरूमा भेला भएर सामूहिक रूपमा गाइन्छ।
जोगीरा होरैयाको सबैभन्दा लोकप्रिय र मनोरञ्जक गीत हो, जसमा व्यङ्ग्य, ठट्टा र नीति उपदेशहरू मिसिएका हुन्छन्। प्रत्येक पङ्क्तिको पुछारमा ‘जोगीरा सररर…’ भन्दै दोहोर्याइन्छ। त्यसैले यो बोललाई जोगीरा भनिएको हो।
शिव मठ पर सोहै लाल ध्वजा
शिव मठ पर, सोहै लाल ध्वजा। शिव मठ पर….।।
कौन के सोहे, हरी–पीरी चुरियाँ,–२
कौन के सोहे, भष्म गोला। शिव मठ पर….।।
गौरी के सोहै, हरी–पीरी चुरियाँ,– २
शिव के सोहे, भष्म गोला। शिव मठ पर….।।
कौन शिखर पर गौरी बिराजे,– २
कौन शिखर पर बम भोला। शिव मठ पर….।।
उत्तर शिखर पर गौरी बिराजे,
दक्षिण शिखर पर बम भोला। शिव मठ पर….।।
मीरा के प्रभु गिरिधर नागर,– २
हरिके चरण, चित मोरा। शिव मठ पर….।।
लगभग हरेक वर्ष हिन्दी, भोजपुरी र नेपाली चलचित्र उद्योगमा होलीसँग सम्बन्धित धेरै गीतहरू रिलिज हुन्छन्। तर, अमिताभ बच्चनको पुरानो गीतले सधैँ नयाँ होली गीतहरूलाई ओझेलमा पार्छ। अमिताभ बच्चनको एउटा गीत छ जसविना होलीको पर्व अधुरो लाग्छ, त्यो गीत

