नेपाल घुम्न मात्र होइन, आफूलाई चिन्न आउनुहोस् : पर्यटनमन्त्री पौडेल

२ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपाललाई विश्व आरोग्य (वेलनेस) पर्यटनको केन्द्र बनाउने उद्घोष गर्दै विदेशी पर्यटकलाई घुम्न मात्र नभई आफूलाई चिन्न नेपाल आउन आह्वान गरेका छन्।
अन्तर्राष्ट्रिय आरोग्य दिवस (अप्रिल १५) का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल ध्यान र तपोभूमिको उद्गम बिन्दु भएको बताए।
‘नेपाल ध्यानको उद्गम बिन्दु हो, जहाँ हजारौँ वर्षअघि ऋषिमुनिहरूले मानव चेतनाको गहिरो विज्ञान पत्ता लगाएका थिए। हाम्रो प्रकृति नै आरोग्यको केन्द्र हो,’ मन्त्री पौडेलले भने, ‘त्यसैले नेपालमा घुम्न मात्र होइन, आफूलाई चिन्न आउनुस्।’
सरकारले आरोग्यलाई जीवनशैली र संस्कारकै रूपमा विकास गर्ने नीतिगत प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री पौडेलले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ (आरोग्य वर्ष) का रूपमा मनाउने घोषणा गरे।
यसलाई देशको आर्थिक रूपान्तरणको एजेन्डाका रूपमा अघि बढाइने बताउँदै उनले यो अभियानलाई सफल बनाउन निजी क्षेत्र, शैक्षिक संस्था, सञ्चार क्षेत्र र विश्व समुदायलाई सामूहिक सहकार्यका लागि अपिलसमेत गरे।
नेपाल सरकारको एकल प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएअनुसार आज (अप्रिल १५) विश्वभर ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइँदैछ। यसलाई नेपालको ऐतिहासिक कूटनीतिक र सांस्कृतिक उपलब्धि मान्दै मन्त्री पौडेलले प्रस्तावको पक्षमा उभिने सबै मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गरे।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक उद्धृत गर्दै उनले हाल विश्वका १ अर्बभन्दा बढी मानिस मानसिक तनाव र समस्याले ग्रस्त रहेको औंल्याए। यस्तो चुनौतीपूर्ण अवस्थामा नेपालको शान्त प्रकृति, हिमाल, प्राचीन उपचार पद्धति र जीवित परम्पराहरूले विश्वभरका मानिसलाई स्वस्थ जीवनशैली र मानसिक शान्ति प्रदान गर्न सक्ने मन्त्री पौडेलले विश्वास व्यक्त गरे।



