वीरगञ्ज–८ को वडा कार्यालय अब नवनिर्मित सुविधासम्पन्न भवनबाट सञ्चालन

वीरगञ्ज । करिब ८ वर्षदेखि विद्यालयको भवनमा सञ्चालन हुँदै आएको वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ को वडा समितिको कार्यालय अब आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भएको छ। वीरगञ्ज महानगरपालिकाको ८४ लाख रुपैयाँ लागतमा बनेको दुई तल्ले आधुनिक भवन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
मेयर राजेशमान सिंहले हिन्दु विधिअनुसार पूजापाठ गर्दै नवनिर्मित भवनको उद्घाटन गरेका छन्। वडाध्यक्ष रितेश गुप्ताका अनुसार रात्री मावि भवन छेउको जग्गामा निर्माण गरिएको सात कोठे सुविधासम्पन्न कार्यालय भवनले अब सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा दिन सहयोग गर्नेछ।
यसअघि करिब ८ वर्षसम्म वडा कार्यालय रात्री माविको तीन कोठामा सञ्चालन गर्नुपरेको थियो। आफ्नै भवन नभएको कारण सेवा प्रवाहमा विभिन्न चुनौती सामना गर्नुपरेको वडाध्यक्ष गुप्ताले बताए
उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडाध्यक्षहरू बैजुलाल स्वर्णकार, हृदयनारायण कुर्मी, उमाशंकर तिवारी, सन्तोष जैशी, हरिकाजी महर्जनलगायतको उपस्थिति थियो।



