मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
चुनावी हारको समीक्षासँगै नेकपामा वामपन्थी शक्तिबिच एकताबारे चर्चा – Pradesh Dristhi
देश

चुनावी हारको समीक्षासँगै नेकपामा वामपन्थी शक्तिबिच एकताबारे चर्चा

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ठुलो धक्का खाएपछि नेपाली कम्युनिस्ट पार्टी अहिले पराजयको समीक्षा गरिरहेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा चैत १९ गतेदेखि जारी केन्द्रीय संयोजन समिति बैठकमा नेकपा चुनावी पराजयको समीक्षामा जुटेको हो ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १० पृष्ठको चुनावी समीक्षा प्रतिवेदनमा पार्टी पराजय हुनुमा आन्तरिक र बाह्य कारण प्रमुख रहेको स्पष्ट पारेका थिए । उनले पार्टीलाई तत्कालै सांगठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्य योजना बनाएर पार्टी पुनर्गठन र रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘पार्टीले तत्कालै सांगठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेछ । पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नुपर्ने भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

त्यसका लागि संगठन समायोजन र निर्माण, पार्टी सदस्य नवीकरण र अधिवेशन, एकता महाधिवेशनको आयोजना, नेतृत्व पुनर्गठन र रूपान्तरण, प्रशिक्षण अभियान, प्रभावकारी रचनात्मक प्रतिपक्ष, प्रदेश र स्थानीय तह परिचालन, प्राविधिक क्षमता विकास, कार्यशैली र आचरणमा सुधारसम्बन्धी १० बुँदे ठोस कार्ययोजना प्रस्ताव गरेका छन् ।

चुनावमा पार्टीले धक्का खानुको पछाडि वाम शक्ति एकजुट नहुनु मुख्य कारक रहेको उनको निष्कर्ष छ । अहिले पनि देशमा १० भन्दा बढी कम्युनिस्ट पार्टीहरू अस्तित्वमा रहेको र त्यसमध्ये एक्लाएक्लै चुनाव लडेका ९ वटा कम्युनिस्ट पार्टीले प्राप्त गरेको समानुपातिक मत ४० लाखभन्दा बढी रहेको तथ्य उनले प्रस्तुत गरेका छन् ।

‘वामपन्थी एकजुट भएको भए योभन्दा पनि बढी मत आकर्षित हुन सक्थ्यो । कम्युनिस्ट मत बाँडिदा २७ निर्वाचन क्षेत्रमा चुनाव हारिएको छ । एकताबद्ध भएको भए त्यो हुने थिएन । वाम शक्तिमाथि प्रहार भइरहेको छ, तर पनि एकताबद्ध हुन सकिरहेको छैन । यसमा गम्भीर भएर अगाडि बढ्नु आवश्यक छ’, प्रचण्डले भनेका छन् ।

चुनावमा नेकपाले प्रत्यक्ष ८ र समानुपातिक ९ गरी जम्मा १७ सिट जितेको थियो । अघिल्लो निर्वाचनमा साबिकको माओवादी केन्द्रले ११ लाख ७५ हजारभन्दा बढी मत प्राप्त गरेको थियो । तर तीन वर्षको बिचमा २५ वटा कम्युनिस्ट घटक मिलेर चुनावमा जाँदा पनि नेकपाले जम्मा ८ लाख ११ हजार मत प्राप्त गरेको थियो ।

प्रचण्डको प्रतिवेदनमाथि सोमबारदेखि नेताहरूले निरन्तर धारणा राखेका छन् । बैठकमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले हारको समीक्षा गर्दै आन्तरिक एकता र कम्युनिस्ट पार्टीबिचको एकतालाई प्राथमिकताका साथ उठाएका छन् ।

पार्टी एकीकरणको सम्बन्धमा खनालले तुरुन्तै केन्द्रदेखि इकाईसम्म पूरा गर्नुपर्ने लिखित सुझाव दिएका छन् ।

‘तुरुन्त एकीकरणको प्रक्रियालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र इकाईसम्म पूरा गर्नुपर्छ । त्यसो गरिरहँदा पार्टीमा एकताबद्ध भएका सबै समूहको भावनालाई समेत समाहित गर्न सक्नुपर्छ र एउटा ठोस कार्ययोजनाका साथमा सिङ्गो पार्टीलाई एकीकृत बनाउनुपर्छ’, उनले भनेका थिए ।

साथै कम्युनिस्ट पार्टीहरूबिच एकताको सन्दर्भमा खनालले चार वटा आधारभूत सैद्धान्तिक आधार प्रस्ताव गरेका छन् । त्यसका लागि उनले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको चरणमा छ भनेर मान्ने, क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवादी कार्यक्रम मान्ने र समाजवाद प्राप्त गर्ने क्रान्तिकारी बाटो अवलम्बन गर्ने प्रस्ताव गरेका छन् ।

चुनावमा पार्टी पराजय हुनुको आन्तरिक कारण नेतृत्वदायी कोर टिम नबनेको, एकीकृत अभियान समयमै सुरु नभएको, सन्देशसभाको सट्टा एकीकरण सभा हुनुपर्नेमा त्यसो हुन नसकेको खनालले औँल्याएका छन् । यसैगरी एकतापछि तीन महिनाको समय सदुपयोग नभएको, अपानी र अपिल जारी गर्ने सहमतिले आशंका जन्माएको, समिति प्रणाली नभएको, जनसंगठनलाई एकताबद्ध गरी परिचालन नगरिएको, चुनावी अभियान कसका विरुद्ध भएको भन्ने प्रस्ट नभएको, युवाहरूलाई परिचालन नगरिएको र चुनावी अभियान सञ्चालन गर्न प्रभावकारी संयन्त्र नबनेको धारणा खनालले राखे ।

भदौमा भएको जेनजी आन्दोलन बाहिरी तथा आन्तरिक षड्यन्त्रको डिजाइनमा हुँदा समेत नेतृत्वले चाल नपाएको आरोप खनालले लगाएका छन् ।

‘२४ गतेको विध्वंस र त्यसले पारेको असर, संविधान र निर्वाचनका निम्ति गर्नुपर्ने तयारी जस्ता कुरालाई गम्भीरतापूर्वक नलिई ६ महिनाभित्र चुनाव गराउने षड्यन्त्रमा सहमति जनाउने काम गरियो । निर्वाचनमा नै मुलुकलाई लग्दा पनि राजनीतिक पार्टीहरूलाई तयारी गर्न पर्याप्त समय दिनुपर्थ्यो,’ उनले भनेका छन्, ‘कतिपय नेताहरूले खुब ठुलो युक्ति निकालेर चुनावको घोषणा गरियो भनेर आत्मप्रशंसा गर्नुभयो तर देशलाई अन्तर्राष्ट्रिय शक्तिहरूको अखडा बनाइँदैछ भन्ने कुराको हेक्का राख्न सक्नुभएन ।’

बैठकमा पूर्वउपप्रधानन्त्री तथा वरिष्ठ नेता वामदेव गौतमले साम्राज्यवादी शक्तिहरूको डिजाइनमा नेपालमा ‘कलर रिभोलुसन’ भएको जिकिर गरेका छन् । आन्तरिक पार्टी एकतालाई सुदृढ गरी कम्युनिस्ट पार्टीहरूको एकतामा जोड दिनुपर्ने बताए ।

‘साम्राज्यवादी शक्तिको डिजाइनमा भदौमा निलो क्रान्ति भयो । त्यसको फाइदा राष्ट्रिय स्वतन्त्र पार्टीले लियो । वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न पार्टीको आन्तरिक एकतालाई बलियो र सुदृढ गरी कम्युनिस्ट पार्टीहरूबिच बृहत् एकता आजको आवश्यकता हो । मार्क्सवाद, लेनिनवादको सैद्धान्तिक र वैचारिक धरातलमा कम्युनिस्ट पार्टीहरूलाई गोलबन्द गर्न पार्टीले विशेष पहल गर्नुपर्छ’, गौतमको भनाइ उद्धृत गर्दै एक नेताले रातोपाटीसँग भने ।

अर्का नेता राजेन्द्रप्रसाद श्रेष्ठले नेपालमा प्रजातन्त्र स्थापनापछिको ७५ वर्षमा शक्ति सन्तुलन फेरबदल भएकाले नयाँ रणनीति अनुसार अगाडि बढ्नुपर्ने सुझाव दिए ।

‘७५ वर्षसम्म कांग्रेस र कम्युनिस्टबिच प्रतिस्पर्धा भयो । भदौमा भएको जेनजी आन्दोलनपछि शक्ति सन्तुलन फेरिएको छ । संगठन सुदृढीकरण गरेर प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने गरी पार्टीले नयाँ कार्यदिशा र कार्यक्रम तय गर्नुपर्छ’, उनले भने ।

यद्यपि जेनजी आन्दोलपछि विषम परिस्थितिमा दुई अतिवादलाई चिरेर निर्वाचन सम्पन्न गराउन पार्टीको भूमिका महत्त्वपूर्ण रहेको श्रेष्ठको भनाइ थियो ।

बदलिँदो परिस्थितिमा पार्टीले वैचारिक, सांगठनिक र नेताको शैली परिवर्तन गर्नुपर्ने सुझाव दिएका थिए । नेपालमा पुँजीवाद भर्खर प्रारम्भ भएकाले एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्नेमा उनले जोड दिए ।

‘समाजवादमा दुई कम्युनिस्ट पार्टी सँगै जान सक्छन् तर पुँजीवादमा जान सक्दैनन् । अहिलेको अवस्थामा एउटा मात्र कम्युनिस्ट पार्टी सम्भव छ । कि निल्नु, कि मिल्नुको विकल्प छैन,’ उनले भने । समाजवाद पुरानो ‘जार्गन’बाट चल्न नसक्ने उनको भनाइ थियो । बौद्धिक कृत्रिमतासहितको समाजवाद खोज्नुपर्नेमा उनले जोड दिए ।

निर्वाचनको समीक्षा गर्दै श्रेष्ठले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको तुलनामा नेकपालाई कम क्षति भएको जिकिर गरे । यद्यपि पार्टीले अपेक्षाकृत श्रेष्ठता हासिल गर्न नसक्नुमा कमजोर संगठन भएको उनले तर्क गरे ।

श्रेष्ठले भने, ‘कर्णाली र लुम्बिनी प्रदेशमा बलियो संगठन भएकाले लोकप्रियवाद र अल्गोरिदमले प्रभाव पार्न सकेन, तर अन्य प्रदेशमा बलियो संगठन नहुँदा पार्टीलाई क्षति पुगेको देखिन्छ । यसबारे गम्भीर समीक्षा गरी आगामी महाविधेशनमा सोही अनुसार संगठन, पार्टी रूपान्तरण गर्नुपर्छ । ५० प्रतिशत युवाहरूलाई केन्द्रदेखि इकाईसम्म ल्याउनुपर्छ ।’

तर युवा नेताहरूले पार्टीले बनाएको केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय संयोजन समिति समावेशी र युवा मैत्री नभएको भन्दै मौजुदा केन्द्रीय समिति भङ्ग गरी तत्काल महाधिवेशन घोषणा गर्न माग गरेका छन् ।

योङ्ग कम्युनिस्ट लिग (वाइसीएल)का फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटाले पार्टीमा सामान्य सुधारमात्र नभए क्रमभंग गर्नुपर्ने बताएका छन् । उनले छाता आकारको सबै संगठन भङ्ग गरी सुरु गर्न नेतृत्वलाई दबाब दिएका छन् ।

‘नेपाली कम्युनिस्ट पार्टी सामान्य सुधार होइन, क्रमभंग र (प्रलयकारी) रूपान्तरणको निर्णय गर्नुपर्छ । अहिलेको संगठनात्मक संरचना बोकेर गएर माछा होइन, भ्यागुतो पनि हात लाग्दैन । अम्ब्रेला आकारको सबै संगठनात्मक संरचना भङ्ग गरेर जिरोबाट सुरु गरौँ’, सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेकपाले हालै गठन गरेको ४५ सदस्यीय कार्य संयोजन समितिमा सल्लाहकार समितिमा बस्नुपर्ने पुराना नेताहरू रहेकोमा युवाहरूले आक्रोश पोखेका छन् । युवाहरूको मागलाई सम्बोधन गर्ने गरी संयोजक प्रचण्डको प्रतिवेदनमाथि छलफल जारी रहेकाले केही दिनमै पार्टीको ठोस निर्णय आउने नेता प्रकाश ज्वालाले बताए ।

‘बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । समय निर्धारण नगरिएकाले एउटै नेताले एकदेखि डेढ घण्टासम्म धारणा राखेका छन् । चुनावी समीक्षा र आगामी कार्यभारबारे छलफल केन्द्रित छ । दुई–तीन दिनमा पार्टीको ठोस निर्णय र कार्यक्रम सार्वजनिक गर्छ’, उनले भने ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker