‘सेतो धरती’ चैत २७ देखि मञ्चन हुने

काठमाडौँ । नाटक ‘सेतो धरती’ यही चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तक ‘सेतो धरती’मा आधारित यस नाटक कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको हो । नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल रहेकी छन् । हमालले यसै नाटकबाट रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन् ।
नाटकको निर्माता अभिनेत्री रेखा थापा हुन् । हाल धमाधम रिहर्सल भइरहेको नाटकमा कलाकार हमालको अलावा थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकारहरू एकै पटक मञ्चमा देखिँदै छन्। नेपाल साहित्य जगतको लोकप्रिय तथा सर्वाधिक बिक्री भएको उपन्यास भएकाले पनि सेतो धरतीलाई नेपाली रंगमञ्चका दर्शक र साहित्य क्षेत्रले अपेक्षाका साथ हेरेका छन्।
कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रङ्गमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका सीईओ प्रकाश पुरीले बताए ।
‘सेतो धरती’ यही चैत २७ गते शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुनेछ। बुधबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे तथा शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १ः१५ बजे पनि विशेष शो रहने बताइएको छ।



