गृहमन्त्रीलाई पुनको सुझाव : नेताहरूको दबाबमा नपर्नु, अपराधीलाई कारबाही गर्नु

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपरी निडर भएर काम गर्न सुझाव दिएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले विगतमा पार्टी र शीर्ष नेतृत्वको हस्तक्षेपका कारण गृहमन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको स्मरण गराएका हुन् ।
उनले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न गृहमन्त्री गुरुङले चालेका पछिल्ला कदमहरू प्रशंसनीय रहेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे। सांसद पुनले पहिलेका गृहमन्त्रीहरूले कुनै ठोस कारबाही प्रक्रिया अघि बढाउन खोज्दा आफ्नै दलका प्रमुख नेताहरूको दबाब झेल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अहिले त्यस्तो हुन नहुनेमा जोड दिए।
‘गृहमन्त्रीले अब कसैको पनि दबाबमा पर्नु भएन, राम्रो काम गर्नुपर्यो,’ उनले भने, ‘अपराधिक कार्यमा संलग्न जोसुकै भए पनि तदारुकताका साथ कारबाहीको दायरामा ल्याउनुपर्छ।’ उनले गृहमन्त्रीलाई आफ्नो अभियानमा विचलित नहुन र जनअपेक्षा अनुसारको नतिजा दिन प्रोत्साहन समेत गरे।
संसदमा आफू प्रतिपक्षी भूमिकामा रहेको स्पष्ट पार्दै पुनले कुनै पनि राजनीतिक स्वार्थ पूर्तिमा आफू संलग्न नहुने प्रतिबद्धता जनाए। उनले देशको हित र सुशासनका पक्षमा हुने हरेक सकारात्मक काममा आफ्नो समर्थन रहने तर गलत कार्यको सधैँ विरोध गर्ने बताए।



