इजरायललाई सूचना दिएको आरोपमा इरानमा २० जना पक्राउ

इजरायलका लागि सूचनादाता (इनफर्मेन्ट) का रूपमा काम गरेको आरोपमा इरानले २० जनालाई पक्राउ गरेको छ । इरानको उत्तर पश्चिमी वेष्ट अजरबैजान प्रान्तमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।
सरकारी समाचार संस्था तास्निम न्युज एजेन्सीका अनुसार स्थानीय अभियोजक कार्यालयले जारी गरेको वक्तव्य उद्धृत गर्दै उनीहरूलाई इजरायलसँग सहकार्य गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।
वक्तव्यमा ती व्यक्तिहरूले इरानका सैन्य, प्रहरी तथा सुरक्षा संरचनासम्बन्धी स्थानको विवरण इजरायललाई पठाएको आरोप लगाइएको छ । अभियोजक कार्यालयका अनुसार जायोनिस्ट शासनसँग सम्बन्धित भाडाका सञ्जालहरू विरुद्ध कारबाही गर्दै अदालतको आदेशमा २० जनालाई पक्राउ गरी हिरासतमा राखिएको हो
यसैबिच अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गत साता प्रकाशित रिपोर्टमा इजरायलले इरानमाथि आक्रमणको नयाँ चरण सुरु गरेको र जमिनमा रहेका सूचनादाताबाट प्राप्त जानकारीका आधारमा सुरक्षा चौकीहरूलाई लक्षित गरिएको जनाएको थियो ।



