अन्य पाँच प्रदेशको तुलनामा कोशी र मधेसमा कसरी भयो नेकपा कमजोर ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतका आधारमा नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानमा रह्यो ।
देशभर नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ८ लाख ५ हजार ७७३ मत पाएको छ ।
कोशी र मधेस प्रदेशबाहेक अन्य पाँच प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी समानुपातिक मतका आधारमा चौथो दल बनेको छ । तर कोशी र मधेसमा भने यो दल पाँचौँ स्थानमा रह्यो ।
कोशीमा श्रम संस्कृति पार्टी र मधेसमा जसपा नेपाल समानुपातिक मतका आधारमा शीर्ष चार दलको सूचीमा परेका कारण नेपाली कम्युनिस्ट पार्टी पाँचौँ स्थानमा पुगेको हो ।
समानुपातिक मततर्फ कोशीमा ८ लाख ४६ हजार ७३७ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो नम्बरमा रहँदा २ लाख ८६ हजार ९३ मतसहित नेपाली कांग्रेस दोस्रो नम्बरमा रह्यो । यस्तै, नेकपा एमाले २ लाख ८५ हजार २८१ मतसहित तेस्रो स्थानमा रहँदा निर्वाचन अघि गठन भएको दल श्रम संस्कृति पार्टी २ लाख ८५ हजार १९ मतसहित चौथो स्थानमा रहन सफल भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी भने ९४ हजार ८७० मतसहित पाँचौँ नम्बरमा रह्यो ।
मधेस प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो रह्यो । समानुपातिकमा १२ लाख ६२ हजार ६५६ मतसहित रास्वपा पहिलो दल बन्दा नेपाली कांग्रेस २ लाख ८२ हजार २०३ मतसहित दोस्रो स्थानमा रह्यो । नेकपा एमाले भने एक लाख ८३ हजार ७७५ मतसहित तेस्रो रहँदा नेपाली कम्युनिस्ट पार्टीलाई उछिन्दै जसपा नेपाल चौथो दल बन्न सफल भएको छ । जसपा नेपालले मधेसमा समानुपातिकतर्फ एक लाख २९ हजार ९१७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीले एक लाख ४ हजार ६१७ मतमात्र प्राप्त गरेको छ ।
यस्तै, बागमतीमा रास्वपा ११ लाख १९ हजार २७० मतसहित पहिलो दल बन्दा नेपाली कांग्रेस ३ लाख २१ हजार १०६ मतसहित दोस्रो, नेकपा एमाले २ लाख ६१ हजार ८९७ मतसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी एक लाख ८८ हजार १८२ मतसहित चौथो स्थानमा रह्यो ।
गण्डकी प्रदेशमा पहिलो स्थानमा रहेको रास्वपाले ५ लाख २५ हजार ६३५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ७ हजार ३८७, तेस्रो स्थानमा रहेको नेकपा एमालेले एक लाख ५२ हजार ५८७ र चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा पहिलो स्थानमा रहेको रास्वपाले ९ लाख ३३ हजार ३५२ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख २८ हजार ७१९ मत प्राप्त गरेको छ । नेकपा एमाले २ लाख ९६ हजार ५४२ मतसहित तेस्रो रहँदा नेपाली कम्युनिस्ट पार्टी एक लाख ५५ हजार २४२ मतसहित चौथो स्थानमा रह्यो ।
अन्य प्रदेशमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस कर्णाली प्रदेशमा भने समानुपातिक मततर्फ पहिलो स्थानमा रहन सफल भएको छ । नेपाली कांग्रेस एक लाख ४१ हजार २३३ मतसहित पहिलो दल बन्दा दोस्रो स्थानमा रहेको रास्वपाले एक लाख ३३ हजार ७४९ मत पाएको छ । तेस्रो स्थानमा रहेको एमालेले एक लाख २० हजार ८६३ र चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले एक लाख ७ हजार १०१ मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा रास्वपा नै पहिलो स्थानमा छ । रास्वपाले ३ लाख १७ हजार ८३६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एक लाख ८२ हजार ८४२, तेस्रो स्थानमा रहेको नेकपा एमालेले एक लाख ४७ हजार ९०९ र चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ९७ हजार २६३ मत प्राप्त गरेका छन् ।



