मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँ : कुलमान घिसिङ – Pradesh Dristhi
देश

जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँ : कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना समेत दिएका छन्। उनले नयाँ सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने प्रष्ट पारेका छन्।

घिसिङले लामो स्टाटस लेख्दै देशको वर्तमान प्रशासनिक र विकास प्रणालीप्रति आलोचना गरेका छन्। एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने परिपाटीले देशको विकास रोकेको उनको भनाइ छ। ‘हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो,’ घिसिङले लेखेका छन्, ‘यही कारण बजेट खर्च हुन सकेको छैन र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको छ।’

काम र परिणाम दिने प्रतिबद्धतासहित आफ्नो पार्टी चुनावमा होमिएको उल्लेख गर्दै उनले विगतमा आफूले गरेका कामहरूको फेहरिस्त पनि प्रस्तुत गरेका छन्। १८ घण्टा लामो लोडसेडिङको अन्त्य, ५८ प्रतिशतबाट ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण र नेपाललाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बनाएको स्मरण गर्दै उनले भनेका छन्, ‘हामीले लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ।’
यसका साथै, विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाएको, मेलम्ची खानेपानी सुचारु गरेको, तातोपानी नाका खुलाएको र अलपत्र आयोजनाका ठेक्का तोडेको जस्ता उपलब्धि उनले दाबी गरेका छन्।

विषम परिस्थितिका बीच चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री, सुरक्षा निकाय र मतदातालाई धन्यवाद दिँदै घिसिङले छोटो समयमै जनताले दिएको माया र सद्भाव आफ्नो लागि ठूलो ऊर्जा भएको बताएका छन्।
निर्वाचनको परिणामबाट आफू निराश नभएको भन्दै उनले ‘उज्यालो नेपाल निर्माण’ को अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

जेनजी आन्दोलनपछि आएको यो चुनावलाई उनले केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार र अकर्मण्यताविरुद्धको परिवर्तनको अवसरका रूपमा अर्थ्याएका छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker