निर्वाचनले मुलुक र संविधान जोगायो : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुक र संविधानको रक्षा गर्ने सुनिश्चितता गरेको बताएका छन्। निर्वाचन सम्पन्न नभएको भए देशको राजनीतिक भविष्य, संविधान र मानवता नै गम्भीर जोखिममा पर्न सक्ने उल्लेख गर्दै उनले यो निर्वाचनलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरेका हुन्।
सरकारले सबैको अपेक्षाअनुसार विगतका निर्वाचनभन्दा बढी सुदृढ र व्यवस्थित ढंगले मतदान सम्पन्न गरेको मन्त्री अर्यालको दाबी छ। वर्तमान सरकार गठन भएदेखि नै मुलुकमा राजनीतिक हिंसा अन्त्य भएको र निर्वाचनका क्रममा समेत रगतको एक थोपा पनि नखसेको उनले बताए। शान्तिपूर्ण वातावरणमा जनमत व्यक्त हुनुले नेपाली लोकतन्त्र थप परिपक्व भएको उनको विश्लेषण छ।
गृहमन्त्री अर्यालले अब बन्ने सरकारहरूले भत्काउन नसक्ने गरी सुशासनका बलिया मानकहरू स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। नागरिकले सुशासनको प्रत्यक्ष अनुभूति गर्न पाउने गरी राज्यका संयन्त्रहरूलाई प्रभावकारी बनाउनु पर्ने र आगामी नेतृत्वले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। निर्वाचनपछिको राजनीतिक स्थिरताले देशलाई समृद्धिको दिशामा लैजाने विश्वास उनले व्यक्त गरेका छन्।



