अमेरिकी सेनालाई इरानमा पठाउनु समयको बर्बादीः ट्रम्प

वासिङ्टन डिसी । अहिले इरानमा अमेरिकी स्थल सेना पठाउने कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यस्तो कदम ‘समयको बर्बादी’ हुने उनले बताएका छन् । एनबीसी न्यूजसँग बिहीबार गरेको अन्तर्वार्तामा ट्रम्पले भने, ‘अहिले त्यहाँ सेना पठाउनु समयको बर्बादी हो । उनीहरूले सबै कुरा गुमाइसकेका छन् । उनीहरूले आफ्नो नौसेना गुमाइसके, गुमाउन बाँकी केही छैन ।’ यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिका वा इजरायलको सम्भावित स्थल आक्रमणका लागि तयार रहेको बताएका थिए
ट्रम्पले भने अराघचीको त्यो टिप्पणीलाई बेवास्ता गर्न लायक भएको बताए । ट्रम्पले इरानको वर्तमान नेतृत्व संरचना परिवर्तन गर्नुपर्ने पनि बताएका छन् । उनले भने, ‘हामी अहिलेको नेतृत्व संरचना सफा गर्न चाहन्छौँ । इरानलाई राम्रो नेता चाहिन्छ। मेरो दिमागमा केही मानिस छन् जो राम्रो काम गर्न सक्छन् ।’ उनले भने । तर कसलाई सम्भावित नयाँ नेतृत्वका रूपमा सोचिरहेका छन् भन्ने कुरा चाहिँ उनले खुलाएनन् । इरान युद्धमा ती मानिसहरू बाचुन् भन्ने सुनिश्चित गर्न कदम चालिरहेको पनि उनले बताए । ‘हामी उनीहरूलाई हेरिरहेका छौँ, हो,’ उनले भने । बिहीबार एक्सियोससँगको अर्काे अन्तर्वार्तामा ट्रम्पले इरानको नयाँ सर्वोच्च नेताको नियुक्तिमा संलग्न हुनुपर्ने बताएका थिए ।



