इजरायलले सार्वजनिक जमघटसम्बन्धी प्रतिबन्ध केही खुकुलो बनायो

तेल अभिभ । इरानी क्षेप्यास्त्र आक्रमण रोक्न इजरायलको हवाई रक्षा प्रणाली प्रभावकारी देखिएपछि सरकारले सार्वजनिक जीवनमा लगाइएका केही प्रतिबन्ध खुकुलो बनाउने निर्णय गरेको छ ।
पछिल्ला केही दिनदेखि इजरायलमा कार्यक्रम र सार्वजनिक जमघटमा पाँच दिनसम्म पूर्ण रोक लगाइएको थियो । तर बिहीबार दिउँसो १२ बजेदेखि अधिकतम ५० जनासम्मको जमघटलाई अनुमति दिइने भएको छ । तर सहभागीहरू आवश्यक परे आश्रयस्थलमा पुग्न सक्ने व्यवस्था हुनुपर्ने बताइएको छ ।
यससँगै धेरै कार्यस्थलहरू पनि पुनः सञ्चालनमा आउनेछन् । तर विद्यालय र शैक्षिक संस्थाहरू भने अझै बन्द नै रहनेछन् । यसबीच बुधबार राति इजरायलमा अवस्था अझै तनावपूर्ण रहेको थियो ।
इरानबाट कम्तीमा तीन चरणमा क्षेप्यास्त्र प्रहार गरिएको थियो। यद्यपि हालसम्म कुनै घाइतेको रिपोर्ट आएको छैन । पछिल्लो एक घण्टामा पश्चिमी गालिल क्षेत्रतर्फ फेरि हवाई आक्रमणको चेतावनी जारी गरिएको छ ।

