मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
संसदमा कानुन बनाउनेमात्र होइन, जनताको सुख–दुःखमा साथ दिने नेतृत्व चाहिन्छ : राजेन्द्र बुर्लाकोटी – Pradesh Dristhi
देश

संसदमा कानुन बनाउनेमात्र होइन, जनताको सुख–दुःखमा साथ दिने नेतृत्व चाहिन्छ : राजेन्द्र बुर्लाकोटी

प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने क्रम तीव्र बनेको छ । चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरू मतदाता रिझाउने होडबाजीमा छन् ।

यसै सन्दर्भमा आफ्नो चुनावी क्षेत्रमा घरदैलो अभियानमा व्यस्त चितवन क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीसँग रातोपाटीले गरेको स्थलगत कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

  • चुनावी प्रचारप्रसारको माहोल कस्तो बन्दैछ ? अहिलेसम्म कति मतदाताको घरदैलोमा पुग्नुभयो ?

चुनावी माहोल अत्यन्तै उत्साहजनक छ । जनताले देखाएको सद्भावले मलाई थप ऊर्जा मिलेको छ । मेरो निर्वाचन क्षेत्रमा रहेका ४२ वटा वडामध्ये अहिले धेरैजसो वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छौँ ।

बाँकी केही वडाहरूमा पनि हामी तीव्र गतिमा पुग्दैछौँ । जहाँ–जहाँ पुगेका छौँ, त्यहाँ मतदाताहरूबाट असाध्यै राम्रो प्रतिक्रिया र सकारात्मक ऊर्जा पाएका छौँ । जनताले परिवर्तन र विकासको पक्षमा उभिने प्रतिबद्धता जनाउनुभएको छ ।

  • अघिल्लो पटक अर्कै पार्टीले जितेको यो क्षेत्रमा अहिले तपाईं चुनावी मैदानमा हुनुहुन्छ । मतदाताहरूले के भनिरहेका छन् ? उनीहरूलाई आकर्षित गर्ने तपाईंका मुख्य एजेन्डाहरू के हुन् ?

यसअघिका सांसदसँग मतदाताहरूको गुनासो स्पष्ट छ । विगतमा यहाँबाट जितेर गएका प्रतिनिधिहरूले फर्केर हेरेनन् । चुनाव जितेपछि गाउँको विकास त परको कुरा, मतदातासँग सामान्य भेटघाट समेत गरेनन् भन्ने उहाँहरूको ठुलो गुनासो छ । फेरि के भोट दिने भनेर उल्टै प्रश्न गर्ने अवस्था सिर्जना भएको थियो ।

तर, मेरो सन्दर्भमा कुरा अलि फरक छ । म यो क्षेत्रमा आज चुनाव लड्नमात्र आएको होइन । म वर्षाैंदेखि यहीँको माटोमा भिजेको, यहीँ बसोबास भएको र लामो समयदेखि सामाजिक काम गर्दै आएको मान्छे हुँ । जनताको सुखमा होस् वा दुःखमा, म सधैँ उहाँहरूसँगै छु । चाहे कसैलाई औषधि उपचारको समस्या पर्दा होस्, प्रहरी प्रशासनमा काम पर्दा होस् वा नागरिकता र पासपोर्ट बनाउने जस्तो प्रशासनिक उल्झन सुल्झाउनु पर्दा होस्– मैले सधैँ सहजीकरण गर्दै आएको छु ।

म जनताको घरआँगनको, छरछिमेकको र हरेक समस्यामा काम लाग्ने लोकल मान्छे हुँ । त्यसैले मतदाताहरूले हाम्रो दुःख बुझ्ने र काम लाग्ने मान्छे तपाईं नै हो, यसपटक तपाईंलाई नै जिताउँछौँ भन्नुभएको छ । मेरो एजेन्डा भनेकै जनताको सेवा र स्थानीय विकास हो ।

  • विपक्षी उम्मेदवारहरू र विशेषगरी नयाँ दलहरूले सांसदको काम गाउँमा विकास गर्ने होइन, संसदमा नीति तथा कानुन बनाउने हो भन्ने तर्क गरिरहेका छन् । कानुन निर्माणको सन्दर्भमा तपाईंको योजना के छ ?

सांसदको काम कानुन बनाउने हो भन्ने कुरामा दुईमत छैन, तर कानुन कहाँ बन्छ ? आकाशमा त बन्दैन । कानुन बनाउन पनि त जनताको समस्या बुझ्नुप¥यो नि ।

मेरो स्पष्ट धारणा के छ भने सांसदले दोहोरो भूमिका निर्वाह गर्नुपर्छ । एउटा भूमिका केन्द्रमा नीति निर्माण गर्ने हो भने अर्काे भूमिका आफ्नो क्षेत्रको विकास र जनताको समस्या समाधान गर्ने हो । यहाँका जनतालाई विकास चाहिएको छ, गाउँको काम चाहिएको छ । साथसाथै यहाँको भूगोल र परिवेश सुहाउँदो कानुन पनि चाहिएको छ ।

हाम्रो क्षेत्रमा किसानलाई मल, बिउ र कीटनाशक औषधिको सधैँ हाहाकार छ । बाढी पहिरोको जोखिम उत्तिकै छ । एउटा सामान्य ढल वा नाला खोल्न पनि समस्या छ । अझ गम्भीर कुरा, यहाँ मानव र वन्यजन्तु बिचको द्वन्द्व चरम अवस्थामा छ ।

वन्यजन्तुले बालीनाली तहसनहस पारेको छ, मानिसको ज्यान जोखिममा छ, तर यसलाई नियन्त्रण गर्ने वा पीडितलाई राहत दिने गरी प्रभावकारी कानुन वा नीति अझै बन्न सकेको छैन । म संसदमा गएर यिनै स्थानीय समस्यालाई सम्बोधन गर्ने गरी नीति निर्माण गर्न चाहन्छु । त्यसैले म भन्छु– हामीलाई विकास पनि चाहिन्छ र सोही अनुसारको कानुन पनि चाहिन्छ ।

  • चुनावी अङ्कगणितलाई कसरी हेर्नुभएको छ ? कति मत ल्याएर जित्छु भन्ने आकलन छ ?

मेरो आकलनमा म ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुन्छु । यो क्षेत्रमा करिब १ लाख ५० हजार मतदाता हुनुहुन्छ । जनताको अहिलेको रुझान र मेरो विगतको कामको आधारमा भन्नुपर्दा ५० हजार प्लस मत सहितको जित निश्चित जस्तै छ ।

  • तपाईंको मुख्य प्रतिस्पर्धी कसलाई मान्नुभएको छ ?

इमानदार भएर भन्नुपर्दा मैले अहिले आफ्नो कुनै खास प्रतिस्पर्धी देखेको छैन । चुनावी मैदानमा धेरै जना हुनुहुन्छ, त्यो स्वभाविक हो, तर जनलहर जसरी मेरो पक्षमा देखिएको छ, त्यसलाई हेर्दा म एक्लै अगाडि बढेको महसुस गरेको छु । अन्य उम्मेदवारहरू उस्तै–उस्तै हुनुहुन्छ, तर मेरो मुख्य टक्कर वा प्रतिस्पर्धा यही व्यक्तिसँग हुन्छ भन्ने अवस्था मैले देखेको छैन ।

  • अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छ ?

मलाई भोट दिनुपर्ने कारणहरू स्पष्ट छन् । पहिलो कुरा, म लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि लडिरहेको छु । दोस्रो, देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्न र सुशासन कायम गर्न मेरो उम्मेदवारी हो ।

अहिले हामी नेपाली कांग्रेसलाई बदल्ने र देश बनाउने सङ्कल्पका साथ अगाडि बढेका छौँ । यो देशको आर्थिक समृद्धि, दिगो विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसको विकल्प छैन । लोकतन्त्र बिना जनताको मौलिक हक अधिकार, वाक स्वतन्त्रता र बाँच्ने अधिकार सुरक्षित हुन सक्दैन । यी सबै अधिकारको रक्षा गर्दै देशलाई समृद्धिको बाटोमा लैजानका लागि मलाई र मेरो पार्टीलाई भोट दिनु आवश्यक छ । म काम गर्ने मान्छे हुँ, कुरा गर्ने मान्छे होइन ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker