अघिल्लो पटकभन्दा मतान्तर बढाउनेगरी काम गरिरहको छु : हरि ढकाल

हरि ढकाल चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हुन् । पार्टीको उद्गम ठाउँ मानिने उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा ढकालले जित निकालेका थिए ।
सेयर बजारका लगानीकर्ताको हकहितमा आवाज उठाएर चर्चामा आएका ढकाल संसदमा पुगेका थिए, तर पहिलो कार्यकालमा पुँजी बजारको सुधार र आफ्नो क्षेत्रको विकासमा खासै काम गर्न नसकेको आरोप समेत ढकालमाथि छ ।
दोस्रो पटक चुनावी मैदानमा होमिएका ढकालसँग निर्वाचनको तयारी, विगतका कामको समीक्षा, सेयर बजारको अवस्था र आगामी एजेन्डाहरूमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
- दोस्रोपटक चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । यसपटक चुनावी मैदानमा होमिरहँदा परिणाम कस्तो रहला भन्ने विश्लेषण गर्नुभएको छ ?
मेरो विश्लेषणमा यसपटकको मतान्तर अघिल्लो पटकको भन्दा धेरै नै माथि जान्छ । मैले सुरुमा ४५ हजारको मतान्तर हुने अनुमान गरेको थिएँ, तर पछिल्लो तीन–चार दिनको माहोल र जनताको उत्साह देख्दा यो बढेर ५२ हजार पुग्ने देखेको छु । म त्यही मतान्तर कायम गर्नका लागि काम गरिरहेको छु । आम नागरिक र मतदाताले मलाई अघिल्लो पटकभन्दा धेरै माया र विश्वास दर्शाइरहनुभएको छ ।
- अहिले तपाईं जुन मत मागिरहनुभएको छ, त्यो विगतमा गरेका कामको ब्याज हो कि अब गर्ने कामका लागि एड्भान्स ?
यो दुवै हो । हेर्नुस्, हाम्रो ३१ महिनाको कार्यकाल निकै छोटो र चुनौतीपूर्ण रह्यो । संसदमा हामी चौथो दलका रूपमा थियौँ र हामीलाई घेराबन्दी गर्ने, काम गर्न नदिने र यो दललाई नै कसरी सिद्ध्याउने भन्ने खालका प्रतिरोधी प्रयासहरू भए, तर ती तमाम अवरोधका बाबजुद हामीले इमानदार कोसिसहरू गर्यौँ ।
मैले सदनलाई जनताले हेर्न लायक बनाएँ । आम नागरिकले जसरी बोल्छन्, त्यसरी नै पूर्वी चितवनका आवाजहरू सदनमा गुन्जाएँ । यहाँका किसान, सौराहाको पर्यटन क्षेत्र, सीमान्तकृत चेपाङ समुदाय र भूमिहीन सुकुमबासीका पीडाहरूलाई मैले सशक्त रूपमा प्रस्तुत गरेँ । कतिपय माग र मुद्दाहरू सम्बोधन गराउन सफल भएँ । त्यसैले अहिलेको मत ती कामहरूको अनुमोदन र बाँकी काम पूरा गर्ने प्रतिबद्धताका लागि हो ।
- ३१ महिनाको अवधिमा तपाईंले योचाहिँ गरेँ भनेर देखाउन सक्ने ठोस कामहरू के–के हुन् ?
मैले विशेषगरी कृषि क्षेत्रमा धेरै काम गरेको छु । उदाहरणका लागि, मह किसानहरूको समस्या हेरौँ । तीन वर्षदेखि किसानको मह उठ्न सकेको थिएन । विदेशबाट अवैध रूपमा ‘सिरम’ भित्रिने र त्यसले नेपाली महलाई विस्थापित गर्ने अवस्था थियो । हामीले त्यो अवैध सिरम रोक्न सफल भयौँ, जसले गर्दा नेपाली मह किसानले बजार पाए ।
अर्काे, हामी गृह मन्त्रालयमा भएको बेला पोल्ट्री व्यवसायीहरूका लागि ‘स्वर्णिम काल’ नै बन्यो । भारतबाट फर्मालिन र नाइट्रेट हालेका अस्वस्थकर माछाहरू अवैध रूपमा नेपाल भित्रिन्थे, जसले नेपाली माछा किसानलाई मारमा पारेको थियो । हामीले नाकामा कडाइ गरेर त्यस्ता माछा निरुत्साहित गर्यौँ र स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्यौँ ।
मलको अभाव विगतको तुलनामा केही कम भएको छ, यद्यपि पूर्ण रूपमा समाधान भइसकेको छैन । म झुट बोल्दिनँ, तर सहजता पक्कै आएको छ । पूर्वी चितवनका असरल्ल परेका योजनाहरूमा निरन्तर खबरदारी गरेर काम सम्पन्न गराएको छु । बजेट वितरणमा हुने विभेद र पहुँचमुखी प्रवृत्तिको विरोध गर्दै केही महत्त्वपूर्ण बजेट ल्याएर कार्यान्वयन पनि गराएको छु ।
एउटा कुरा प्रष्ट पार्न चाहन्छु– बजेट व्यक्तिको हुँदैन, राज्यको हुन्छ । मैले बजेट ल्याएर काम भएको ठाउँमा पनि म रिबन काट्न र शिलान्यास गर्न गइनँ । किनकि ‘मैले ल्याएको बजेट’ भन्ने भाष्य निर्माण गर्नु गलत हो । तैपनि विरोधीहरूले ‘के गर्यो र ?’ भन्ने भाष्य बनाउन खोज्दैछन्, तर सचेत मतदाताले सबै बुझ्नुभएको छ ।
- तपाईं सेयर बजारको अभियन्ताको रूपमा राजनीतिमा आउनुभयो । तर, सांसद भएपछि सेयर बजार सुधारमा ध्यान दिनुभएन, बजार घट्दा वास्ता गर्नुभएन भन्ने आरोप छ नि ?
यो सरासर गलत र चुनावी फन्डामात्र हो । मेरो ३१ महिनाको कार्यकालमा संसदमा १२ पटक सेयर बजारको विषयमा कसले बोल्यो ? त्यो रेकर्ड हेर्दा हुन्छ ।
म राष्ट्र बैंक गएर गभर्नर र अर्थमन्त्रीलाई भेटेर नीतिगत सुधारका लागि कसले पहल गर्यो ? ४–१२ (सेयर धितो कर्जाको सीमा)को नीतिका कारण बजार बिग्रिँदा त्यसलाई हटाउन कसले भूमिका खेल्यो ? गएको असोजमा मात्र होइन, अघिल्लो वर्ष पनि मौद्रिक नीति आउनुअघि विशेष समय लिएर संसदमा बोल्ने म नै हुँ ।
अझ म निर्वाचित भएको वर्ष सरकारले सेयर बजारमा ४० प्रतिशत कर लगाउने तयारी गरेको थियो, जुन संसारमै नभएको अभ्यास हो । त्यसको विरुद्धमा सडकमा साथीहरू आन्दोलित हुँदा संसदभित्र एक्लै लड्ने म थिएँ । अर्थ मन्त्रालयलाई त्यो निर्णय सच्याउन बाध्य पार्ने काम मैले नै गरेको हुँ । म सत्तामा नहुँदा पनि जति गर्न सकिन्थ्यो, त्यो भन्दा बढी आवाज उठाएको छु ।
- सामाजिक सञ्जालमा तपाईंको आलोचना किन भइरहन्छ त ? सेयर बजार घटेको दोष तपाईंतिरै किन सोझिन्छ ?
सेयर बजारको आफ्नै चक्र हुन्छ, यो बुल र बियर भइरहन्छ । बजारलाई मैले चाहेर हरियो वा रातो बनाउन सक्ने होइन । यो मेरो हातको कुरा होइन ।
पछिल्लो समय नीतिगत अस्थिरताले गर्दा लगानीकर्तामा आत्मविश्वास गुमेको छ । ४–१२ को नीतिपछि बजारमा कन्फिडेन्स फर्किएको छैन । यसका लागि स्थायी नीति आवश्यक छ । ब्रोकरमार्फत मार्जिन लेन्डिङको व्यवस्था गर्नुपर्छ भनेर मैले वकालत गरिरहेको छु । सेयर बजारलाई प्राकृतिक लयमा फर्काउन र स्थायी नीति बनाउन तपाईंको जनप्रतिनिधि हरि ढकाल निरन्तर लागिरहेको छ । संसदभित्र सेयर बजारको विरुद्धमा अन्टसन्ट बोल्नेहरूलाई तथ्यसहित जबाफ फर्काउने काम पनि मैले नै गरेको छु । त्यसैले हतार नगरौँ, सुधार हुँदैछ ।
- चितवनमा रोजगारीको अभावले युवाहरू विदेशिन बाध्य छन् । तपाईंको क्षेत्रमा रोजगारी प्रवर्द्धनका लागि तपाईंसँग के योजना छ ?
रोजगारी सिर्जनाका लागि मेरो टिमले देखेको मुख्य तीन वटा सम्भावना छन् । पहिलो, सूचना प्रविधि सेक्टर । यसमा व्यापक सम्भावना छ । हामीले यसका लागि आवश्यक कानुन निर्माण र संशोधनमा जोड दिनेछौँ ।
दोस्रो, पर्यटन । कोभिडपछि सुस्ताएको सौराहाको पर्यटनलाई पुनरुत्थान गर्नुपर्छ । पर्यटन प्रवर्द्धन हुँदा होटल, गाइड र स्थानीय व्यवसायमा रोजगारी बढ्छ ।
तेस्रो, कृषि । चितवनको माटो सुन फल्ने माटो हो । यहाँको माटो गजबको छ । यदि हामीले उत्पादन लागत घटाउन सक्यौँ र बजारको सुनिश्चितता गर्न सक्यौँ भने कृषिमा युवाहरूको आकर्षण बढ्छ । हामी यसैमा केन्द्रित भएर काम गर्न चाहन्छौँ ।
- सांसदको मुख्य काम कानुन निर्माण हो । तपाईंले जित्नुभयो भने आगामी कार्यकालमा तपाईं कुन क्षेत्रको कानुन निर्माणमा बढी केन्द्रित हुनुहुन्छ ?
मेरो मुख्य रुचि र प्राथमिकता कृषि, वन र वातावरण क्षेत्रमा छ । यी क्षेत्रका पुराना कानुनहरू संशोधन गर्नुपर्नेछ र नयाँ कानुन बनाउनुपर्नेछ । मेरो टिमले यसमा गम्भीर अध्ययन र तयारी गरिरहेको छ ।
- यस चुनावमा तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ ?
लोकतन्त्रमा प्रतिस्पर्धा सबैसँग हुन्छ, तर मेरो मुख्य लडाइँ यहाँको बेथिति र पुरानो सोचसँग हो । सामाजिक सञ्जालमा कसले के भन्छ वा विरोधीले के आरोप लगाउँछन्, त्यो गौण कुरा हो । मुख्य कुरा मतदाताले के भन्नुहुन्छ भन्ने हो ।
- अरु क्षेत्रको तुलनामा चितवन–१ मा रास्वपा कमजोर छ भन्ने विश्लेषण छ नि ?
मतदाताले मलाई कमजोर ठानेका छैनन्, बरु अझ बढी विश्वास गरेका छन् । २१ गते ५ बजे मतदान सकिएपछि र २२ गते बिहान ९ बजे बाकस खुलेपछि त्यहाँ केवल घण्टीमात्र देखिनेछ । सानातिना विरोध र भ्रमले हाम्रो विजयको यात्रा रोकिने छैन ।
चितवनको माटो र जनताको भावनासँग म भिजेको छु । हामीलाई एकपटक फेरि काम गर्ने अवसर दिनुहोस्, हामी यहाँको कृषि, पर्यटन र युवा स्वरोजगारमा कायापलट गर्नेछौँ ।



