मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अशेष मल्लका तीन कविता – Pradesh Dristhi
देश

अशेष मल्लका तीन कविता

अशेष मल्ल नेपाली साहित्य र रङ्गमञ्चका एक मूर्धन्य व्यक्तित्व हुन्। उनलाई नेपालमा सडक नाटकका जन्मदाता र आधुनिक प्रयोगवादी नाटककारका रूपमा चिनिन्छ।

उनको जन्म वि.सं. २०११ मा धनकुटाको तल्लो कोप्चेमा भएको हो। उनले वि.सं. २०३८ (सन् १९८२) मा सर्वनाम नाट्य संस्थाको स्थापना गरे, जसले नेपाली रङ्गमञ्चमा नयाँ आयाम थप्यो।

नेपालमा सडक नाटकको सुरुवात गरेर नाटकलाई हलबाट बाहिर सर्वसाधारणको बीचमा पुर्‍याए। पञ्चायतकालीन समयमा नाटकको माध्यमबाट प्रजातन्त्र र जनचेतनाका लागि महत्वपूर्ण भूमिका खेले। उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली साहित्यका सह-प्राध्यापकका रूपमा पनि कार्यरत रहे।

उनका मुख्य कृतिहरूमा सडकदेखि सडकसम्म, तुवाँलोले ढाकेको बस्ती, रक्तबीज, शकुनी पासा, अर्धविराम आदि छन्। उनले कविता र कथाका साथै २५ भन्दा बढी पुस्तकहरू प्रकाशन गरेका छन्। उनले साझा पुरस्कार, मोती पुरस्कार, मुस्याचु पुरस्कार, र जलरिका पुरस्कार जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरिसकेका छन्।

प्रस्तुत छ मल्लका ३ कविता :

१. बुढो रूख

एउटा बुढो रूख
समयको झापडले हैरान छ
र उभिएको छ नदी किनारमा
उस्लाई पनि लाग्दो हो निद्रा
कति बेला सुत्दो हो
उभिएको उभिएै छ
थाकेर लखतरान
कि थाक्दैन
थाकेको अनुहार कहिल्यै देखिदैन
किनारबाट देखिने बग्दो नदी हेर्दै
उभिएको उभिएै छ
कहिले कहीँ लाग्दो हो नदी झै बग्न
गर्दाे हो कल्पना
पर धेरै पर समुद्र पुगेको
लस्कर लस्कर
डु्ङ्गाभरिका पर्यटकसँगै
उसलाई पनि
पर धेरै पर
कुनै अज्ञात प्रदेश पुग्न मन लाग्दो हो
पट्यार लाग्दो हो
एकै ठाउँ
वर्षौँ निरस उभिरहन
कसरी सकेको उभिन
एक्दमै अटल
चुपताप
केवल
पातहरूसँग सुसेल्दै
कहिल्यै नथाके झै
बुढो रूख
उभिएको छ बुढो रूख
उभिएको छ वर्षौँदेखि
नदी किनारमा
एक्दमै चुपचाप
कहिले कहीँ वर्षादमा
पातहरूका आँखाबाट
बिस्तारै
आँसु झार्दै रून्छ
तप तप
आँसु तप तप
तप
तप
नत्र
उभिएको उभिएै
एकै ठाउँ
वतासको लयसँगै सुस्ताउँदै
कहिले कहीँ
कलिला हाँगाका हातहरू हल्लाउँदै
कसैलाई बोलाउँछ
खै कसलाई बोलाएको हो
परको उ जस्तै उभिएको रूखलाई कि कसलाई ?
कुरा गर्न मन लाग्दो हो नि साथीसँग
परको अर्को रूखसँग
अँगालो हाल्दै
अघाउँजी माया साट्न
मन लाग्दो हो
वतासका झापडका पीडाहरू
असिना र वर्षादका कोर्राहरू
देखाउन मन लाग्दो हो
हिउँदका चिसा चिसा हिउँले
कोपरेका डोबहरू
जेठको चर्काे घामले पोलेका
काला रापहरू
भन्न मन लाग्दो हो
सहनुको सगरमाथाको कथा
सुन्न मन लाग्दो हो
उ जस्तै अर्काे रूखको कथा
हुने भए
हाँगाभरि सुस्ताएका चराहरू झै
हुर्र उडेर परको जङ्गलमा
एक रात बास बस्न जाँदो हो
उतै कुनै सुन्दरी रूखसँग
यौवनका सपनाहरू
बाँडेर आउँदो हो
मनको कुरा
मनमै लुकाउनुको पनि सीमा हुन्छ नि
एउटा लाचार जिन्दगी
सिङ्गो युगसम्म
कसरी बाँच्न सकेको होला
बुढो रूख
आकाशका अनेक रंगहरू हेर्दै

२. देउता र मानिस

सोचे जति सबै पुग्ने भए
मानिस स्वयम् देउता हुन्थे
बन्द हुन्थे सायद
मन्दिरका ढोकाहरु ।

अधुरा हुन्छन ईच्छाहरु
र त धाउछन्
देउता खोज्दै
मन्दिर मन्दिर ।

हैरान होलान देउता सायद
मागहरुकोे लामो
जुलूस देखेर ।

के होला
सँधैका लागि बन्द भए
मन्दिरका ढोकाहरु ।

कहाँ जाँदा हुन्
अधुरा सपनाहरुको
मागपत्र बोकेर ।

कहाँ पोख्दा हुन्
दृश्य अदृश्य
गुनासाहरु ।

भौतारिँदै कहाँ जाँदा हुन्
दुःखीहरु देउता खोज्न

खुला छन ढोकाहरु मन्दिरका
मुर्ति मौन छन देउता
भक्तहरुसँग
पापकर्मका प्रतिप्रश्न गर्दैनन् देउता

यसैले लामबद्द छन्
ईच्छापत्र सहितका भक्तजनहरु

जुन दिन बोल्न थाल्नेछन देउता
शून्य हुनेछन मन्दिर ।

३. एउटा कृष्णको आगमन पर्खिरछु

अड्याएर रथका पाङ्ग्राहरू एकाएक
एउटा अर्को गीता बाचेर आउने
कुनै कृष्णको आगमन म पर्खिरहेछु
कर्मण्यवाधिकेरस्ते मा फलेषु कदाचन
एउटा अर्को गीता पर्खीरहेछु

कहाँ छन फालिएका ती गाण्डीव तैयारीहरू
कहाँ छन पोखिएका ती अर्जुन विश्वासहरू
उठाएर काँधसम्म ब्यूँझनु पर्ने यो साँझ
कतै ढलेर रातमै हराउन सक्छ
समयको गति हो
चलबलाएर कतै यो बग्न सक्छ
सुगौलीमा भर्खरै हस्ताक्षर गरेर फर्के जस्तो
तम्तयारहरू सुस्ताएर किन कतै
निदाउन लागरहेछन
कहाँ कहाँको अज्ञात परदेश टेक्दै
कहाँ हो कहाँको अज्ञात बस्ती नाघ्दै
तन्द्राबाट ब्यूँझिसकेको कलिलो बिहान
किन कतै अडिएजस्तो चुपचाप
पुग्नु पर्ने टाकुरा नपुग्दै फर्करहेछ
जस्तो कि
बस्ती उजाड नहोस भनेर
अलिकति बाँचेको नियति
पटक पटक
मर्नुपर्ने सम्झौतामा बाँचिरहेछ
सम्झौता
जस–जसले जहाँ–जहाँ गरे
कायरता हो वा बीरता
युद्धभूमि छाड्ने
अहिलेका अर्जुन विश्वासलाई
एउटा कृष्ण सन्देश चाहिएको छ
युद्धका लागि उसले फरि तैयार हुनुपर्छ
युद्ध रगत बगेरै किन हुनु पर्‍यो
गोली बारूद नै किन पड्कनुपर्‍यो
गान्धी युद्ध पनि त हुनसक्छ
बुद्ध युद्ध पनि त हुनसक्छ
विश्वास नथाकेर जुर्मुराउने युद्ध
त्यो युद्ध हुनुपर्छ
त्यो युद्ध अब उठ्नु पर्छ
चिम्लिएका अर्जुन आँखालाई
झकझकाएर आउने मीठो स्पर्श
फेरि आउने एउटा कृष्ण
यसैका लागि पर्खरहेछु
एउटा गीता यसैका लागि कुरिरहेछु ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker