मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बीबीसीको रिपोर्ट : नेपाल प्रहरीको ‘पिटर वान’ को आदेश, त्यसपछि नरसंहार – Pradesh Dristhi
देश

बीबीसीको रिपोर्ट : नेपाल प्रहरीको ‘पिटर वान’ को आदेश, त्यसपछि नरसंहार

काठमाडौँ । भ्रष्टाचार, सुशासनको अभाव र राजनीतिक अस्थिरताबाट आजित नेपाली युवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा राज्यले दमन गरेको विषयमा बीबीसीले एक विस्तृत अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गरेको छ। सन् २०२५ को सेप्टेम्बर ८ र ९ मा काठमाडौंमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जना युवाको ज्यान गएको थियो

बीबीसीले प्रदर्शनकारी, पत्रकार र प्रहरीकै तर्फबाट प्राप्त ४ हजारभन्दा बढी भिडियो क्लिप र प्रहरीको रेडियो लगको आधारमा तयार पारेको रिपोर्टमा प्रहरी दमन र राज्यको लापर्वाहीका गम्भीर तथ्यहरू बाहिर ल्याएको छ।

सेप्टेम्बर ८ को बिहान, हजारौं युवाहरू काठमाडौंको माइतीघर मण्डलामा भेला भएका थिए। युथ्स अगेन्स्ट करप्सन नाम दिइएको यो आन्दोलन सामाजिक सञ्जालको माध्यमबाट संगठित गरिएको थियो। आन्दोलनकारीहरू संसद् भवनतर्फ अघि बढ्दै गर्दा प्रहरीसँगको झडप सुरु भयो। प्रहरीले सुरुमा अश्रुग्याँस र रबरका बुलेट प्रयोग गरेको थियो तर स्थिति नियन्त्रणमा लिन नसकेपछि दिउँसो १२ः४० बजे प्रहरीको रेडियो सञ्चार पिटर वानमार्फत गोली चलाउने आदेश दिइएको थियो।

रिपोर्टका अनुसार, यो आदेशपछि प्रहरीले संसद् भवन परिसरबाटै आन्दोलनकारीमाथि गोली चलाएको थियो। गोली लागेर २७ वर्षीय कमल घिमिरे, २२ वर्षीय रसिक खतिवडा र १७ वर्षीय स्कुले विद्यार्थी श्रीयम चौलागाईंलगायतका युवाहरू मारिएका थिए।

रेडियो लगले खोलेको रहस्य

बीबीसीले प्राप्त गरेको प्रहरीको गोप्य दस्ताबेज (रेडियो लग) ले गोली चलाउने आदेश उच्च तहबाटै आएको पुष्टि गरेको छ। सबैभन्दा पहिले १२ः४० मा पिटर वान आईजीपी चन्द्र कुवेर खापुङबाट बल प्रयोग गर्ने आदेश दिइएको दस्ताबेजमा उल्लेख छ।

‘कर्फ्यु लागिसकेको छ, आदेश माग गरी राख्नु नपर्ने, आवश्यक बल प्रयोग गर्ने’ पिटर वानले भनेका छन् ।  त्यसपछि, प्रहरी अपरेसनका इन्चार्ज किलो वान एसएसपी विश्व अधिकारीले १२ः४१ बजेमा ‘स्पष्ट आदेश भएको छ, सबैले न्यूनतम आवश्यक बल प्रयोग गर्ने’ आदेश दिएका छन् । यद्यपि, खापुङ र जिल्ला सुरक्षा समितिका प्रमुख छविलाल रिजालले भने आफूहरूले त्यस्तो आदेश नदिएको दाबी गरेका छन्।
प्रहरी अधिकारीहरूले भिडियोमा आफ्ना कनिष्ठ कर्मचारीहरूलाई ‘शत्रुलाई जस्तो ताकेर गोली चलाउन’ भनेको कुरा बीबीसीको रिपोर्टमा स्पष्ट सुन्न सकिन्छ। अर्कोतर्फ, तल्लो तहका प्रहरी अधिकारीहरूले आफूहरूलाई उच्च नेतृत्वले अलपत्र छाडेको र सेनाले समयमै सहयोग नगरेको गुनासो गरेका छन्।

सेप्टेम्बर ८ को घटनाले झन् ठूलो आन्दोलनको रूप लियो। भोलिपल्ट (सेप्टेम्बर ९) काठमाडौँलगायत देशैभरि आन्दोलन चर्कियो। क्रुद्ध युवाहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न सरकारी भवनहरूमा आगजनी गरे। स्थिति यतिसम्म तनावपूर्ण बन्यो कि प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्नुपरेको थियो।

दुई दिनको लगातारको तनावपछि सेप्टेम्बर ९ को राति सेना परिचालन गरियो र स्थिति नियन्त्रणमा आयो। तर त्यतिबेलासम्म १९ जना युवा र ३ जना प्रहरीसहित २२ जनाको ज्यान गइसकेको थियो भने सयौं घाइते भएका थिए।

यस आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। सेप्टेम्बर १२ मा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्यो, तर अहिलेसम्म पनि यी हत्याहरूको जिम्मेवारी कसैले लिएको छैन।
मारिएका १७ वर्षीय श्रीयम चौलागाईंका परिवारलगायत अन्य पीडित परिवारहरू अझै पनि न्यायको पखाइमा छन्। ‘यो घटनाका दोषी को हुन् भन्ने कुरा ३ करोड नेपालीलाई थाहा छ, तर उनीहरूलाई कारबाही कहिले हुन्छ?,’ श्रीयमका बुबाले प्रश्न गरेका छन्।

विस्तृत भिडियो

 

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker