मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
तत्कालीन उपकुलपति भण्डारीसहितको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित – Pradesh Dristhi
देश

तत्कालीन उपकुलपति भण्डारीसहितको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित भएको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । उपकुलपति भण्डारीको तर्फबाट कानुन व्यवसायीले सुनुवाइ स्थगित गराएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति भण्डारीसहित १३ जनालाई एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै गत असोज २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमित कुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृतद्वय छायाँ डि.सी. र श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, र वरिष्ठ सहायक अन्जु शर्मा विरुद्ध मुद्दा दायर गरेको थियो । यस्तै, स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा त्यसका अध्यक्ष पोष्ट राज ज्ञवालीलाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगले सबै प्रतिवादीहरूबाट कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ। साथै, हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ असुलउपर गर्न पनि माग गरेको थियो।

कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी आर्थिक अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा प्रतिष्ठानका पदाधिकारी र आपूर्तिकर्ता कम्पनीको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ ।

अख्तियारका अनुसार प्रतिष्ठानले खरिद गुरुयोजना र आवश्यकता पहिचान नगरी बजेट माग गरेको थियो । सार्वजनिक खरिद ऐन विपरीत निश्चित कम्पनी (लुम्बिनी हेल्थकेयर प्रा.लि.) लाई मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको थियो।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker