मिति: १८ फाल्गुन २०८२, सोमबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
एमालेको चुनावी रणनीति परिवर्तन : उम्मेदवारको प्रचार सामग्रीमा ओलीको तस्बिर गायब ! – Pradesh Dristhi
देश

एमालेको चुनावी रणनीति परिवर्तन : उम्मेदवारको प्रचार सामग्रीमा ओलीको तस्बिर गायब !

काठमाडौँ । केपी शर्मा ओली पहिलो पटक नेकपा एमालेको नेतृत्वमा आएदेखि नै सो पार्टीले गर्ने हरेक सानाठुला भेला, सभा वा अन्य कार्यक्रमका ब्यानर वा पोस्टरहरूमा ओलीको तस्बिर हमेसा छुट्दैनथ्यो । अझ २०७४ पछिका दुई चुनावी प्रचार प्रसारमा त एमाले र उक्त पार्टीका उम्मेदवारहरूले ओलीको तस्बिर अङ्कित प्रचार सामाग्री छुटाएकै थिएनन् भन्दा पनि हुन्छ । ती निर्वाचनमा उम्मेदवारी दर्ता गर्दादेखि नै ओलीको तस्बिर नछुटाउने एमालेजनले यो पटक आफ्नो चुनावी रणनीति परिवर्तन गर्दै ओलीको ब्राण्डिङ विनै मत मागिरहेको देखिएको छ ।

त्यसो त २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित ठुला सभाहरू समेत एमालेले आयोजना गर्न चाहेको देखिएन । ठुला चुनावी सभा र भेला नगरेको मात्रै होइन, एमाले र उसका उम्मेदवारहरूले २०८२ को चुनावमा ओलीको तस्बिरसहितका चुनावी प्रचार सामाग्री राखेर मत नमाग्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण ढङ्गले हेरिएको छ ।

जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा हुन गइरहेको निर्वाचनमा ओलीको तस्बिर अङ्कित चुनावी प्रचार सामाग्री बनाउँदा मत घट्ने भयका कारण पनि एमाले उम्मेदवारहरूले त्यस्ता सामाग्री बनाएर प्रचार नगरेको कतिपयको बुझाइ छ । तर एमाले नेताहरू भने उक्त आशंकामा सत्यता नभएको दाबी गर्छन् । जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओली भदौ २४ गते हेलिकोप्टर चढेर बालुवाटारबाट भाग्न बाध्य भएका थिए । भदौ २३ गतेको आन्दोलनमा संसद भवन आक्रमण भएपछि प्रधानमन्त्री ओलीको निर्देशनमा गोली चल्दा २२ जनाको ज्यान गएको आरोप छ ।

उक्त गोली काण्डपछि घटनाको जिम्मेवार ओली नै रहेको भन्दै कतिपयले उनलाई पक्राउ गर्नुपर्ने आवाज उठेको थियो भने पार्टीभित्रै पनि ओलीले पद त्याग्नुपर्ने आवाज सुनिएको थियो । तर जेनजी आन्दोलनको तीन महिनापछि महाधिवेशन गरेर ओली पुन: एमालेको नेतृत्वमा तेहेरिएका थिए । जेनजी घटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बनाइए पनि अहिलेसम्म उक्त आयोगको प्रतिवेदन नै तयार भइसकेको छैन ।

आन्दोलनपछि संसद विघटन गरेर सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेलाई निर्वाचन तोकेको थियो । एमालेले यो निर्वाचनपछिको भावी प्रधानमन्त्रीका रूपमा कांग्रेस र रास्वपाले जस्तै अध्यक्ष ओलीलाई अघि सारेको छ । ओली स्वयं झापा ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाह विगतमा ओलीले चुनाव जित्दै आएको झापा ५ मा ओलीसँगै प्रतिस्पर्धामा छन् । यो पटकको चुनावमा ओलीलाई बालेन भारी पर्नसक्ने विश्लेषण भइरहेका छन् ।

एमालेले जस्तै नेपाली कांग्रेसले सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीका रूपमा अघि सारेर ब्राण्डिङ गर्दा एमाले र उक्त पार्टीका उम्मेदवार किन पछि हटे त ? एमाले नेताहरू नै प्रस्ट जवाफ दिन सक्ने अवस्थामा छैनन् ।

कांग्रेस र रास्वपा दुवै पार्टीका सभा, भेला र उम्मेदवारका प्रचार सामाग्रीमा प्रायः गगन र शाहको तस्बिर अङ्कित प्रचार सामाग्री देखाएर चुनाव प्रचारप्रसार गरिरहेका छन् ।

तर एमालेका सबैजसो उम्मेदवारले बनाएका प्रचार सामाग्रीमा ओली ‘गायब’ देखिन्छन् ।

जेनजी आन्दोलन र पुसमा सम्पन्न एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनसम्म ओलीको तारिफ गर्ने नेता र उम्मेदवारहरूले समेत निर्वाचन प्रचार सामग्रीमा ओलीको तस्बिर राखेर मत माग्ने हिम्मत नगर्नुमा आशंका गरिएझैँ मत घट्नसक्ने प्रमुख कारण हुनसक्ने धेरैको अनुमान छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट,महासचिव शंकर पोखरेलदेखि सचिव महेश बस्नेत र नेता सूर्य थापासम्मले आफ्नो चुनावी सामग्रीमा ओलीको तस्बिर (प्रतिच्छाया) समावेश गरेका छैनन् ।

‘यो पटक एमाले उम्मेदवारको प्रचार सामग्रीबाट ओली हराएका छन्’, एक एमाले उम्मेदवारले रातोपाटीसँगको अनौपचारिक कुराकानीमा भने, ‘आउने मत पनि किन घटाउनु भनेरै हुनसक्छ !’

ओलीले जेनजी आन्दोलनलाई प्रतिक्रान्ति भन्दा जनलहर अन्य दलतर्फ डाइभर्ट भइरहेकाले उनलाई प्रचार सामग्रीमा समावेश गर्दा बाँकी मत पनि गुम्ने बुझाइले उम्मेदवारहरूले ओली बोक्न नसकेको विश्लेषकहरूको बुझाइ छ ।

collage (1)

राजनीतिक विश्लेषक मुमाराम खनाल ओली जेनजी आन्दोलनका मुख्य आरोपी रहेकाले उनको तस्बिर राख्दा मत घट्न सक्ने बुझेर नै उम्मेदवारहरूले नराखेको र ठुला सभाहरू पनि ओली सहभागी भएर नगरेको हुनसक्ने तर्क गर्छन् ।

‘मत घट्ने काम किन गर्नु भनेर नगरेको हुनसक्छ’, खनालको भनाइ छ । ‘अघिल्ला चुनाव भन्दा अहिलेको चुनावमा एमाले सबैभन्दा बढी डिफेन्सिभ फोर्स बनेको छ । किनभने जेनजी आन्दोलन केपी शर्मा ओलीकै कार्यकालमा भयो र भदौ २३ को आन्दोलनमा जुन दमन भयो त्यसको प्रमुख आरोपी राजनीतिक वृत्तले ओलीलाई बनाएको छ’, विश्लेषक खनालले रातोपाटीसँग भने, ‘त्यस कारण सायद एमालेलाई लागेको होला कि ओलीको नाम लिँदा भोट नबढ्न सक्छ ।’

उनले त्यही कारण नै एमालेमा नेतृत्व परिवर्तनको कुरा पनि उठ्न पुगेको पनि बताए । ‘तर त्यो सम्भव भएन । कांग्रेसकै कतिपय नेताले पनि पुरानै नेतृत्व भएको भए हामी भोट माग्न सक्दैनथ्यौँ भनेको सुनियो’, उनले भने, ‘ओलीको प्रतिच्छाया राखेर चुनावी प्रचार गर्दा मत नबढ्ने बुझेर नै रणनीति फेरेको हुनुपर्छ ।’

तर एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन प्रेस संयोजक मीन बहादुर शाही चुनाव प्रचार सामाग्रीमा अध्यक्ष ओलीको तस्बिर राख्दा भोट घट्छ भनेर नराखेको भन्ने तर्क नै गलत रहेको दावी गर्छन् ।

साथै एमालेले यस पटक ठुला सभा गर्ने भन्दा पनि ‘जता क्षेत्र त्यतै कर्म’को रणनीति अनुसार चुनावी कार्यक्रम पार्टी र उम्मेदवारहरूले गरिरहेको बताउँछन् ।

‘सभा गर्न १८ गतेसम्म समय छ । केही क्षेत्रमा ठुला चुनावी सभा गर्ने कि भन्ने छलफल पनि हुँदैछ । तर यो पटक हाम्रो ‘जता क्षेत्र त्यतै कर्म’ भन्नेमा बढी जोड छ’, शाहीले रातोपाटीसँग भने, ‘हामीले निर्वाचनको क्यालेन्डर बनाउने भनेका थियौँ तर समयको अभावले बनाउन सकेनौँ ।’

उनले चुनावी प्रचार सामाग्रीमा अध्यक्ष ओलीको तस्बिर राख्दा मत घट्छ भनेर नराखिएको भनेर विरोधीलेमात्र आरोप लगाएको भन्दै त्यस्तो तर्कलाई कुतर्कको संज्ञा समेत दिए ।

‘त्यो कु–तर्क हो । निर्वाचन आचारसंहितालाई ख्याल गर्दै चुनाव प्रचार प्रसार गर्नुपर्ने हुन्छ । त्यो उम्मेदवार र पार्टीको हकमा बढी लागु हुन्छ’, संयोजक शाहीले भने, ‘केही उम्मेदवारहरूले अध्यक्षको तस्बिर राखेको पनि हुनसक्छ तर सवैतिर मैले हेर्न पाएको छैन ।’

एमाले नेता तथा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शेरबहादुर तामाङ विगतको तुलनामा यो पटक चुनावी प्रचारप्रसारको ट्रेन्ड परिवर्तन भएको बताउँछन् ।

निर्वाचन आचारसंहिता मान्नुपर्ने भएका कारण पनि सडक वा सार्वजनिक स्थानमा पोस्टर टाँस्ने,पर्चा बाँड्नेजस्ता कार्य गर्न नहुने भन्दै तामाङले आचारसंहिता भित्र रहेर प्रचारको काम सामाजिक सञ्जालमार्फत गरिरहेको बताए ।

‘हाम्रो पार्टीका उम्मेदवारहरूले अध्यक्षको तस्बिर अङ्कित प्रचार सामाग्री बनाएका छन्’, उनले भने, ‘मूल त अध्यक्ष आफै पोस्टर हो । उहाँको नामै काफी छ । एउटा फोटो कहाँ टाँसियो, टाँसिएन भन्ने कुराले अर्थ राख्दैन ।’

नेता तामाङ मुलुक र जनताको मनमै अध्यक्ष ओलीको फोटो टाँसिएको दाबी गर्छन् । ‘मुलुक र नेपाली जनताको मनमै ओलीको तस्बिर टाँसिएको अवस्थामा चुनावी सामाग्रीमा अध्यक्षको तस्बिर राख्दा मत कम आउँछ भनेर गरिएको प्रचारमा कुनै सत्यता छैन । नेकपा एमालेको अध्यक्ष उहाँ नै हो र भावी प्रधानमन्त्री पनि उहाँ नै हो’, तामाङको दाबी छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker