मिति: १९ फाल्गुन २०८२, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पूर्व-पश्चिम राजमार्ग विस्तार : कतै धमाधम कालोपत्र, कतै काम ठप्प – Pradesh Dristhi
देश

पूर्व-पश्चिम राजमार्ग विस्तार : कतै धमाधम कालोपत्र, कतै काम ठप्प

काठमाडौँ । मुलुकको यातायातको ‘लाइफलाइन’ मानिने पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) विभिन्न  खण्डमा विस्तार भइरहेको छ । दुई लेनको यो राजमार्ग सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र वनजंगल तथा सवारी चाप कम भएको क्षेत्रमा चार लेनमा विस्तार भइरहेको छ ।

एसियाली राजमार्गको मापदण्ड अनुसार दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत एसियाली विकास बैंक (एडीबी) र विश्व बैंक लगायत विभिन्न दातृ निकायको ऋण तथा अनुदान सहयोगमा यो महत्त्वाकांक्षी परियोजना अघि बढाइएको छ ।

काँकडभिट्टादेखि पथलैयासम्मका विभिन्न खण्डमा कालोपत्रे र पुल निर्माणले गति लिएको छ भने वन्यजन्तुमैत्री पूर्वाधार (एलिफेन्ट अन्डरपास) समेत निर्माण भइरहेका छन् । यद्यपि, ठेकेदारको नगद प्रवाह समस्या, विद्युत् पोल र रुख कटानमा ढिलाइ तथा स्थानीय तहसँगको समन्वय अभाव जस्ता चुनौतीहरूले कतिपय खण्डमा अपेक्षित प्रगति हासिल गर्न बाधा पुर्‍याइरहेका छन् ।

काकडभिट्टा–लौकही पूर्वी खण्ड : १३ किलोमिटर कालोपत्र

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्यले गति लिएको छ । कुल ९५.७६ किलोमिटर सडक विस्तारको योजनामध्ये पूर्वी खण्ड (काँकडभिट्टादेखि ४५ किलोमिटर पश्चिम) मा हालसम्म १३.२५ किलोमिटर सडकको एकतर्फी कालोपत्र (डीबीएम) सकिएको छ ।

काँकडभिट्टा–लौकही सडक योजना, पूर्वी खण्डका योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म सडक विस्तारतर्फ ३६ प्रतिशत र पुल निर्माणतर्फ २५ प्रतिशत भौतिक प्रगति भएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा ४५ किलोमिटरमध्ये ३० किलोमिटर खण्डमा दुवैतर्फ कालोपत्रको पहिलो तह (डीबीएम) सकाउने लक्ष्यका साथ काम भइरहेको पन्तले जानकारी दिए ।

कुल ३०० मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको यआयोजना एडीबीको ८४.१ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १५.९ प्रतिशत लगानीमा निर्माण भइरहेको हो । आयोजनालाई पाँचवटा प्याकेजमा विभाजन गरिएको छ, जसमध्ये पूर्वी खण्डको ४५ किलोमिटर दमकस्थित कार्यालयले हेरिरहेको छ । सन् २०२३ अक्टोबरमा सम्झौता भई २०२४ फेब्रुअरीदेखि निर्माण सुरु भएको यो आयोजनाको अवधि तीन वर्षको छ ।

हाल दुई लेन रहेको सडकलाई चार लेनमा विस्तार गरिँदैछ । सडकको बिचमा तीन मिटरको डिभाइडर रहनेछ भने दुवैतर्फ १०–१० मिटरको पिच हुनेछ । सहरी क्षेत्रमा सडकको स्वरूप अझ फराकिलो हुनेछ । योजना प्रमुख पन्तका अनुसार सहरी क्षेत्रमा दायाँ–बायाँ ६.५ मिटरको ’सर्भिस लेन’ थपिनेछ, जसले सडकलाई कुल आठ लेनको बनाउनेछ । त्यस्तै, अर्धसहरी क्षेत्रमा साढे ३ मिटरको सर्भिस लेनसहित सडक ६ लेनको हुनेछ ।

यस सडकखण्डमा साना–ठुला गरी थुप्रै पुल र कल्भर्टहरू निर्माण भइरहेका छन् । पूर्वी खण्डमा मात्रै १९ वटा पुल र १५२ वटा कल्भर्टहरू रहेका छन् । यस योजनाको विशेष विशेषता भनेको १५ मिटर स्पानको ‘एलिफेन्ट अण्डरपास’ (हात्ती हिँड्ने पुल) हो, जसले वन्यजन्तुको आवतजावतलाई सहज बनाउने र दुर्घटना न्यूनीकरण गर्ने विश्वास गरिएको छ । यसबाहेक ३०० मिटरभन्दा लामा ठुला पुलहरूको निर्माणका लागि छुट्टै प्याकेजमार्फत काम भइरहेको छ ।

कुल ३०० मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको यो आयोजना एडीबीको ८४.१ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १५.९ प्रतिशत लगानीमा निर्माण भइरहेको हो । आयोजनालाई पाँचवटा प्याकेजमा विभाजन गरिएको छ, जसमध्ये पूर्वी खण्डको ४५ किलोमिटर दमकस्थित कार्यालयले हेरिरहेको छ । सन् २०२३ अक्टोबरमा सम्झौता भई २०२४ फेब्रुअरीदेखि निर्माण सुरु भएको यो आयोजनाको अवधि तीन वर्षको छ ।

निर्माण कार्यले गति लिए पनि सडक सीमाभित्र रहेका विद्युतका पोल, खानेपानीका पाइप र टेलिकमका तारहरू सार्नु मुख्य चुनौतीका रूपमा देखिएको छ । योजना प्रमुख पन्तका अनुसार १२० किलोमिटरको कुल आयोजनामा १३ हजार रुख काट्नुपर्नेमा पूर्वी खण्डमा मात्रै ४ हजार ७२३ रुख रहेका थिए । वन विभागको स्वीकृतिमा काटिएका रुखको सट्टा १० गुणा बढी रुख रोप्ने र हुर्काउने सर्तमा काम अघि बढाइएको उनले बताए ।

निर्माण सामग्रीको उपलब्धता र अनुकूल मौसम रहेमा निर्धारित समयभित्रै मुख्य कामहरू सम्पन्न हुने योजना कार्यालयले जनाएको छ ।

काँकडभिट्टा–लौकही पश्चिम खण्ड : ३२ प्रतिशत प्रगति

पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण्डको विस्तार कार्यले तीव्रता पाएको छ । इटहरीस्थित योजना कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार हालसम्म आयोजनाको पश्चिम खण्डको भौतिक प्रगति ३२ प्रतिशत पुगेको छ ।

कुल ५०.७६ किलोमिटर लम्बाइ रहेको यस खण्डको निर्माण कार्य दुई वर्षअघि (फेब्रुअरी २०२४) देखि सुरु भएको हो । आगामी फेब्रुअरी २०२७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको कुल लागत भ्याटसहित करिब १८ अर्ब रुपैयाँ छ ।

यस सडकखण्डको मुख्य आकर्षणका रूपमा सहरी क्षेत्रमा बन्ने ‘भेहिकुलर अन्डरपास’ र ओभरपासहरू रहनेछन् । दमकमा तीनवटा र इटहरीमा चारवटा गरी कुल सातवटा ओभरपास निर्माण हुने योजना प्रमुख प्रजापतिले जानकारी दिए ।

यी ओभरपासको दायाँ–बायाँ पैदलयात्रीहरूका लागि १४ वटा ‘पेडेस्ट्रियन अन्डरपास’ समेत निर्माण गरिनेछ । ‘अहिले दमक क्षेत्रमा दुईवटा ओभरपास र चारवटा पैदलयात्री अन्डरपासको निर्माण सम्पन्न भइसकेको छ भने अन्य संरचनाहरू निर्माणाधीन अवस्थामा छन्,’ प्रजापतिले भने ।

हालसम्म सडकको एकातर्फ (डबल लेन) १५ किलोमिटर कालोपत्रको पहिलो तह सम्पन्न भइसकेको छ । आयोजनाले चालु आर्थिक वर्षको असार मसान्तसम्म ६० प्रतिशत भौतिक प्रगति पुर्‍याउने लक्ष्य राखेको छ । ‘अहिले कालोपत्रका लागि उपयुक्त मौसम भएकाले दैनिकजसो पिचको काम भइरहेको छ, असारसम्म उल्लेख्य प्रगति देखिनेछ,’ उनले बताए ।

सडक विस्तारअन्तर्गत जङ्गल क्षेत्रमा २४ मिटर र बजार क्षेत्रमा फुटपाथसहित ५० मिटर चौडा सडक निर्माण गरिँदैछ । यस खण्डमा रतुवा, बक्राहा र लोहेन्द्र गरी तीनवटा ठुला पुलसहित अन्य १४ वटा साना पुलहरू निर्माणाधीन छन् । पुलहरूको मात्रै भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ ।

राष्ट्रिय रूपान्तरणकारी आयोजना भएकाले निर्माण सामग्रीको माग अत्यधिक छ । लेटाङ लगायत क्षेत्रबाट आउने नदीजन्य सामग्रीको गुणस्तर र उपलब्धतामा स्थानीय तहहरूसँग समन्वय गर्नुपर्ने चुनौती रहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख प्रजापतिले काम भइरहे पनि व्यवस्थापकीय कठिनाइले गर्दा अझै प्रभावकारी बनाउन परामर्शदाता र निर्माण व्यवसायीसँग नियमित छलफल भइरहेको जानकारी दिए ।

आयोजना निर्माणका क्रममा विद्युतका पोलहरू सार्न मुख्य अवरोध देखिएको छ । यस खण्डमा रहेका करिब २ हजार ३०० वटा पोलमध्ये हालसम्म ५७० वटा (करिब ३० प्रतिशत) मात्र सारिएको छ । नेपाल विद्युत प्राधिकरणले समयमै पोल नसारिदिँदा बजार क्षेत्रको काममा ढिलाइ भएको प्रजापतिले बताए ।

‘वनको समस्या समाधान भइसकेको छ । घरटहरा पनि लगभग हटाइसकिएको छ, तर विद्युतका पोल र बजार क्षेत्रको ट्राफिक म्यानेजमेन्टले गर्दा अपेक्षित गतिमा काम गर्न केही कठिन भएको छ,’ उनले भने ।

राष्ट्रिय रूपान्तरणकारी आयोजना भएकाले निर्माण सामग्रीको माग अत्यधिक छ । लेटाङ लगायत क्षेत्रबाट आउने नदीजन्य सामग्रीको गुणस्तर र उपलब्धतामा स्थानीय तहहरूसँग समन्वय गर्नुपर्ने चुनौती रहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख प्रजापतिले काम भइरहे पनि व्यवस्थापकीय कठिनाइले गर्दा अझै प्रभावकारी बनाउन परामर्शदाता र निर्माण व्यवसायीसँग नियमित छलफल भइरहेको जानकारी दिए ।

कञ्चनपुर–कमला सडकको पूर्वी खण्डमा ६६ प्रतिशत भौतिक प्रगति

कञ्चनपुर–कमला सडक योजनाको पूर्वी खण्डको कामले उल्लेख्य प्रगति हासिल गरेको छ । यस खण्डमा हालसम्म ६६.९० प्रतिशत भौतिक प्रगति र ६१.४७ प्रतिशत वित्तीय प्रगति भएको छ । योजना प्रमुख निरज शाक्यका अनुसार यो खण्डको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । कञ्चनपुरदेखि कुशाहासम्मको ३९.४२ किलोमिटर सडकखण्डमा ७ अर्ब २७ करोड रुपैयाँको ठेक्का रकममा काम भइरहेको छ । दुई लेनको सडकमा दुवैतर्फ गरी कुल ४६ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ भने थप ३३ किलोमिटर कालोपत्रको काम बाँकी छ ।

आयोजना अन्तर्गत २९ वटा पुल र ११३ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् । यसैगरी रूपनीमा दुईवटा अन्डरपास (सडकमुनिबाट वारपार गर्न बनाइएको बाटो) को निर्माण कार्य पनि सकिएको छ । यो आयोजना २०७७ साल कात्तिक १३ गतेबाट सुरु भएको थियो । तीन वर्षमा सम्पन्न गर्ने गरी सुरु भएको यो सडक विभिन्न कारणले म्याद थप भएपछि तेस्रो पटकको म्याद थपपछि यसको सम्पन्न मिति २०८३ साल असार १६ गतेका लागि निर्धारण गरिएको छ ।

कञ्चनपुर–कमला सडकको पश्चिम खण्डमा ७० प्रतिशत प्रगतिपछि काम ठप्प

कञ्चनपुर–कमला सडक विस्तार आयोजनाको पश्चिम खण्डको काम ७० प्रतिशत भौतिक प्रगतिसम्म पुगेर ठप्प भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले ‘क्यास फ्लो’ (नगद प्रवाह) को समस्या देखाउँदै काम रोकेपछि आयोजनाको भविष्य अन्योलमा परेको हो ।

४७ किलोमिटर लामो यस खण्डमा हालसम्म ३४ किलोमिटर सडकमा चार लेनकै कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी १३ किलोमिटर खण्डमा पनि एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको र सवारी साधनहरू नयाँ ट्रयाकबाटै गुडिरहेको आयोजनाले जनाएको छ ।

योजना कार्यालयका प्रमुख उज्ज्वल श्रेष्ठका अनुसार चिनियाँ निर्माण व्यवसायीले स्थानीय सप्लायर र कामदारहरूलाई भुक्तानी दिन नसकेपछि सप्लायरहरूले साइटका गेटहरू बन्द गरिदिएका छन् । ‘गत महिनादेखि कामको गति निकै सुस्त थियो, अहिले त पूर्ण रूपमा रोकिएको जस्तै छ,’ श्रेष्ठले भने, ‘ठेकेदारले पैसा छैन भनेर भुक्तानी रोकेपछि यो अवस्था आएको हो ।’

४७ किलोमिटर लामो यस खण्डमा हालसम्म ३४ किलोमिटर सडकमा चार लेनकै कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी १३ किलोमिटर खण्डमा पनि एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको र सवारी साधनहरू नयाँ ट्रयाकबाटै गुडिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत कुल २५ वटा पुलहरू निर्माण गर्नुपर्नेमा २४ वटाको संरचना तयार भई सवारी सञ्चालनमा आइसकेका छन् । एकातर्फका पुलहरूमा रेलिङ र अन्तिम तहको फिनिसिङको काम मात्र बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।

यस सडकखण्डमा पनि ६ वटा ‘भेहिकुलर ओभरपास’ निर्माण भइरहेका छन् । जसमध्ये ५ वटाको मुख्य संरचना तयार भइसकेको छ भने लहानमा एउटा ओभरपास निर्माणाधीन छ । तर ती ओभरपासलाई सडकसँग जोड्ने ‘एप्रोच रोड’ (आरई वाल) को काम भने बजेट अभावका कारण अघि बढ्न सकेको छैन । श्रेष्ठका अनुसार ठेकेदारले आवश्यक ‘आरई प्यानल’ समेत पर्याप्त मात्रामा तयार पारेको छैन ।

२९ अक्टोबर २०२० मा सुरु भएको यो आयोजना अहिले सातौँ वर्षमा प्रवेश गरेको छ । तीन वर्षमा सक्ने लक्ष्य राखिए पनि हालसम्म तीन पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक १५ जुलाई २०२६ सम्मका लागि म्याद थपिएको छ ।

योजना प्रमुख राजेशकुमार दासका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना अहिले लक्ष्यभन्दा ३–४ महिना ढिलो चलिरहेको छ । सन् २०२७ को डिसेम्बरसम्म निर्माण सकिनुपर्ने यस आयोजनामा वन क्षेत्रको रुख कटान र विद्युतको पोल सार्ने काममा भएको ढिलाइले प्रगति न्यून देखिएको हो ।

आयोजना ढिलाइ हुनुमा सुरुका वर्षमा कोभिड–१९ र त्यसपछि स्थानीय तह तथा वन कार्यालयबिचको समन्वय अभाव मुख्य कारण रहेको श्रेष्ठले बताए । ‘लहान नगरपालिका र वन कार्यालयबिच खोलाको सामग्री उत्खननको विषयमा विवाद हुँदा झन्डै एक वर्ष काम रोकियो,’ उनले भने, ‘त्यसबेला चिनियाँ कर्मचारीहरू पक्राउ पर्ने र कारबाहीमा पर्ने जस्ता घटनाले पनि कामलाई प्रभावित पार्‍यो ।’

काम ठप्प भएपछि सडक विभागले चिनियाँ कम्पनीको मुख्यालयलाई पत्राचार गरी काम रोकिनुको कारण र आगामी कार्ययोजना माग गरेको छ । बाँकी काम सम्पन्न गर्न अब झन्डै चार महिनाको समय मात्र प्रभावकारी हुने देखिए पनि ठेकेदार कम्पनीका जिम्मेवार अधिकारीहरू सम्पर्कमा नआउँदा आयोजना सम्पन्न हुनेमा संशय थपिएको छ । साथै यस खण्डमा ६८३ वटा विद्युतीय पोलमध्ये २२ वटा हटाउन बाँकी छ । यस्तै ३७ वटा ट्रान्सफर्मरमध्ये ७ वटा बाँकी छ र १ हजार ८६ वटा रुख काटिसकेको आयोजनाले जनाएको छ ।

कमला–ढल्केबर–पथलैया पूर्वी खण्ड : १३ महिनामा २० प्रतिशत मात्रै प्रगति

कमला–ढल्केबर–पथलैया सडक विस्तार आयोजनाको पूर्वी खण्ड (कमला–बागमती) को काम सुस्त देखिएको छ । ठेक्का सम्झौता भएको १३ महिना बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति मात्र २० प्रतिशत पुगेको छ ।

योजना प्रमुख राजेशकुमार दासका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना अहिले लक्ष्यभन्दा ३–४ महिना ढिलो चलिरहेको छ । सन् २०२७ को डिसेम्बरसम्म निर्माण सकिनुपर्ने यस आयोजनामा वन क्षेत्रको रुख कटान र विद्युतको पोल सार्ने काममा भएको ढिलाइले प्रगति न्यून देखिएको हो ।

आयोजना प्रमुख दासले विद्युतका पोलहरू समयमै सार्न नसक्नु ढिलाइको मुख्य कारण रहेको बताए । ‘यस खण्डमा कुल २ हजार २४१ वटा पोलहरू हटाउनुपर्नेमा हालसम्म जम्मा ६५० वटा मात्र हटाइएको छ,’ उनले भने, ‘विद्युत प्राधिकरणले नयाँ पोल राखे पनि पुराना पोल र तार नहटाइदिँदा काम अघि बढाउन समस्या भएको छ ।’

त्यस्तै, ११ हजार ५७७ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । रुख कटानको प्रक्रिया निकै लामो र जटिल भएका कारण पनि सुरुवाती चरणमा काममा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

विश्व बैंकको ऋण सहयोगमा सञ्चालित यो आयोजनाको लागत अनुमान ३२ अर्ब रुपैयाँ गरिए पनि निर्माण व्यवसायीले ३५ देखि ४० प्रतिशत कम (लो बिडिङ) मा ठेक्का सकारेका छन् । कुल १९ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको यस आयोजनामा न्यून रकममा काम गर्नुपर्ने चुनौती रहेको दासले बताए ।

यो सडक विस्तारलाई तीन खण्डमा विभाजन गरिएको छ । जसमध्ये एक खण्डमा भारतीय ठेकेदार र बाँकी दुई खण्डमा नेपाली र चिनियाँ निर्माण कम्पनीको संयुक्त उपक्रम (जेभी) ले काम गरिरहेका छन् । ७७ किलोमिटर लामो यस खण्डमा ३५ वटा ठुला पुल र १४५ वटा साना पुल (कल्भर्ट) निर्माण गर्नुपर्नेछ ।

आयोजनाको कुल अवधि ९ वर्षको छ । जसअनुसार पहिलो तीन वर्षमा सडक विस्तार र निर्माणको काम सम्पन्न गरिसक्नुपर्नेछ भने बाँकी ६ वर्ष निर्माण व्यवसायीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधान छ । आयोजना प्रमुख दासका अनुसार फिल्डमा करिब १ हजार कामदार र ३०० हाराहारीमा मेसिनहरू परिचालन गरिएको छ । ‘मेगा प्रोजेक्ट भएकाले बाहिरबाट हेर्दा काम धमाधम देखिए पनि प्राविधिक हिसाबले हामीले लक्ष्य भेट्टाउन अझै धेरै मेहेनत गर्नुपर्नेछ,’ उनले भने । विद्युतका पोलहरू सार्ने काममा सटडाउन लिनुपर्ने र बिदाको समयमा मात्र काम गर्न पाइने भएकाले पनि विद्युत प्राधिकरणसँगको समन्वयमा अझै केही समय लाग्ने देखिएको छ ।’

कमला–ढल्केबर–पथलैया पश्चिम खण्ड : ठेक्का सम्झौता हुँदै

यो सडक विस्तार परियोजना विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुन लागेको हो । विभागले ठेक्का मूल्यांकन गरिसकेपछि अन्तिम स्वीकृतिका लागि विश्व बैंकको सहमति (नो अब्जेक्सन) लिनुपर्ने हुन्छ । चालु आर्थिक वर्षभित्रै ठेक्का सम्झौता सम्पन्न गर्ने र केही महिनाभित्रै काम सुरु गर्ने लक्ष्य राखिएको छ ।

कमला–ढल्केबर–पथलैया सडक पश्चिम खण्ड विस्तारको कामले गति लिने देखिएको छ । हाल यस सडक योजनाको पश्चिम खण्ड (५३ किलोमिटर) को ठेक्का मूल्यांकनको कार्य भइरहेको र छिट्टै निर्माण प्रक्रिया सुरु हुने भएको छ ।

कमला–ढल्केबर–पथलैया सडक योजनाका पश्चिम खण्डका योजना प्रमुख छविलाल पौडेलका अनुसार हाल सडक विभागमा निर्माण व्यवसायीहरूले पेस गरेको बोलपत्रको मूल्यांकन भइरहेको छ । यो प्रक्रिया सकिएलगत्तै ठेक्का सम्झौताको काम अघि बढ्नेछ ।

सुरूमा यो सडकखण्डलाई ‘हाइब्रिड एन्युइटी’ मोडेलमा निर्माण गर्ने योजना बनाइएको थियो । सार्वजनिक–निजी साझेदारी (पीपीपी) को एक स्वरूप मानिने यो मोडेलमा काम गर्न कानुनी स्पष्टता र ऐन संशोधनको आवश्यकता देखिएकाले प्रक्रियामा केही ढिलाइ भएको पौडेलले जानकारी दिए । ‘हाइब्रिड मोडेलका लागि कानुन संशोधन गर्नुपर्ने अवस्था आएपछि हामीले पुरानै ठेक्का प्रक्रिया (ट्रेडिस्नल बिडिङ) बाट काम अगाडि बढाएका हौँ,’ उनले भने ।

५३ किलोमिटर लामो यो खण्ड रौतहट र बारा जिल्लामा पर्छ । सडक विस्तारका क्रममा पर्सा राष्ट्रिय निकुञ्जको केही भाग समेत समेटिने भएकाले करिब २४ हजार रुखहरू काट्नुपर्ने देखिएको छ । यसका लागि वन विभागसँग समन्वय गरी रुख कटानको प्रक्रिया अगाडि बढाइसकिएको योजना प्रमुख पौडेलले बताए । त्यस्तै, सडक क्षेत्रभित्र पर्ने विद्युतका पोलहरू सार्न विद्युत् प्राधिकरणसँग समन्वय गरी लागत अनुमान तयार गर्ने काम पनि भइरहेको छ ।

यो सडक विस्तार परियोजना विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुन लागेको हो । विभागले ठेक्का मूल्यांकन गरिसकेपछि अन्तिम स्वीकृतिका लागि विश्व बैंकको सहमति (नो अब्जेक्सन) लिनुपर्ने हुन्छ । चालु आर्थिक वर्षभित्रै ठेक्का सम्झौता सम्पन्न गर्ने र केही महिनाभित्रै काम सुरु गर्ने लक्ष्य राखिएको छ । निर्माण सुरु भएको मितिले तीन वर्षभित्र सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने प्रावधान छ । हाल फिल्डमा भइरहेको काम ‘पूर्वी खण्ड’ (कमला–बर्दिबास) को भएको र पश्चिम खण्डको काम ठेक्का सम्झौतापछि मात्रै सुरु हुने पौडेलले बताए । फोटो : मनोज खड्का

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker